काठमाडौँ– कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै झण्डै २ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो।
तथ्यांकअनुसार कात्तिक महिनामा २६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ। यस्तै, एउटा मध्यमस्तरको उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठुला उद्योगमा भने कुनै प्रतिबद्धता भित्रिएको छैन। विभागका अनुसार कात्तिकमा कूल २७ वटा उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको हो।
कात्तिकमा आएको प्रतिबद्धता सेवा र पर्यटन क्षेत्रमा मात्रै भित्रिएको छ। कूल प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ५६ प्रतिशत अर्थात् १५ वटा प्रतिबद्धता आएको छ। यस्तै, सेवा क्षेत्रमा ४४ प्रतिशत अर्थात् १२ वटा प्रतिबद्धता आएको छ। यसबाहेकका, उत्पादन, सूचना प्रविधि, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रमा कुनै पनि प्रतिबद्धता भित्रिएको छैन।
चालू आर्थिक वर्षको साउन–कात्तिक महिनासम्ममा भने १८ अर्ब ३५ करोड रुपैयाँभन्दा धेरैको प्रतिबद्धता भित्रिएको छ। यस अवधिसम्ममा १७८ वटा उद्योगमा लगानीको प्रतिबद्धता भित्रिएको छ। कूल प्रतिबद्धतामध्ये १७० वटा साना उद्योग, ५ मध्य र ४ ठुला उद्योगमा प्रतिबद्धता आएको छ।