काठमाडौं– सभामुख देवराज घिमिरेले संसद सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद चलाउन समस्या भएको बताएका छन्।
सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको काम कारबाहीका विषयमा भएको छलफलमा सभामुख घिमिरेले सरकारले संसदको बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताए।
हाम्रो बाध्यता के छ भने अफिस टाइम भन्दा फरक टाइममा संसद नचलाइकन काम चलाउनुपर्छ है भन्ने अर्थ मन्त्रालय र अर्थमन्त्रीको स्पष्ट आग्रह छ। आग्रह मात्रै होइन, यो त नियन्त्रण नै छ’, उनले भने, ‘व्यवहारमा अतिरिक्त केही नदिइसकेपछि चल्न गाह्रो छ ।’
सरकारी कार्यालयजस्तो नियमित काम कारबाही हुने ठाउँ र संसदको प्रकृति फरक छ भन्ने विषयमा अर्थमन्त्रीसँग कुरा गरेको हेर्दै जाउँला न त भनेको तर न्यूनतम पनि बजेटको प्रवन्ध नगरेको सभामुख घिमिरेले बताए।
विगतमा संसद सचिवालयका कर्मचारीलाई कार्यालय समय भन्दा थप समय काम गर्दा भत्ताको व्यवस्था थियो। तर पछिल्ला वर्षमा सरकारले खर्च कटौती गर्नुपर्ने भन्दै कर्मचारीलाई भत्ता नदिने घोषणा गरेपछि हाल संसदमा कर्मचारीले भत्ता पाएका छैनन्।
‘विगतमा पनि उहाँहरुले बिहानदेखि बेलुकासम्म खट्दा पनि खाजासम्म पनि खुवाउने परिस्थिति नभएर विगतकै (भत्ता) दिन सकेका छैनौं। त्यो भन्दा पहिला सुविधा दिने परम्परा थियो। यसलाई व्यवस्थित नगर्ने हो भने चल्न नसक्ने स्थिति छ’, उनले भने।
विगतमा संसदलाई विभिन्न दातृ निकायले सहयोग गरेको तर अहिले दातृ निकायको सहयोग पनि घट्दै जाँदा धेरै काम कारबाहीमा समस्या परेको धारणा राखे।
‘विगतमा संसदलाई सपोर्ट गर्नका लागि विदेशी संघसंस्थाहरु पनि ठूलो मात्रामा आएका देखिएका थिए। किनभने नेपालमा भर्खर प्रजातन्त्र आएको थियो। गणतन्त्र आएको थियो। त्यसका क्रियाकलाप गर्नका लागि कहाँ के गर्नुपर्छ? सहयोग भनेर धेरै आएका थिए’, उनले भने, ‘त्यसको आधारमा यहाँ केही सुविधाहरु, केही गतिविधि गर्न सपोर्ट थियो राज्यले पनि यसमा ठिकै बजेट र लगानी गरेको थियो। अहिले आइपुग्दा सपोर्ट गर्ने हेण्ड्सहरु कतिपय हाम्रा लागि त्यति उपयुक्त भएनन् । कतिपय अब किन सपोर्ट गरिरहने भनेर गए।