वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध - Chaitanya News
  • 2026-05-27
  • 02:15:41
  • मंगलबार,जेठ १२, २०८३
  • वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध

    वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध

    काठमाडौं– वैदेशिक रोजगारी विभागको सर्भरमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति लिने कार्य दुई दिनदेखि अवरुद्ध भएको छ।

    विभागमा सञ्चालित वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस० को सर्भर मर्मत गर्नुपर्ने भएकाले अनलाइनबाट लिने श्रम स्वीकृति रोकिएको हो। विभागको सर्भरमा समस्या देखिएपछि अनलाइनबाट नयाँ लिने संस्थागत र व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्विकृति लिने जस्ता कार्यहरु आइतवारदेखि रोकिएको विभागले जनाएको छ।

    विभागले एक सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएको बताउँदै सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।

    विभागका निर्देशक मदन दहालले विभागको डाटा सिंहदरवारमा रहेको एकिकृत डाटा सेन्टरमा (जीआईडीसी) मा फाइल सार्ने काम भइरहेको बताए। उनले सोक्रममा विभागको सिस्टममा नयाँ कागजातहरु अपलोड गर्ने जस्ता कार्यहरु रोकिएको बताए।

    यद्यपि, बाँकी कामहरु भने जारी रहेको उनले बताए। ‘डाटा सेन्टरमा फाइल सार्ने काम भइरहेकाले विभागबाट हुने आंशिक सेवाहरु हाललाई रोकिएको छ’ उनले भने, ‘अहिले त्यसको मर्मतको काम भइरहेको छ। उनले सम्भवतः आज बेलुकादेखि नै सेवा पुनः सूचारु हुने बताए।

    केही वर्षयता वैदेशिक रोजगार विभागले अनलाइन माध्यमबाट श्रम र पुनः श्रम स्वीकृतिको सेवा दिदै आएको छ। यो प्रणााली लागूभएसँगै श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय जानै पर्ने बाध्यताबाट सेवाग्राहीले मुक्ति पाएका छन्।