काठमाडौं– नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ। बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो।
हिजोे (आइतबार) एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ।
सूचना अनुसार कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ४२ करोड ९८ लाख रुपैयाँ ख वर्गको विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात् मंगलबार राती १२ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ। निक्षेप भने २०८० पुस १ गते प्रदान गरिनेछ। एक वर्षका लागि प्रदान गरिने निक्षेप २०८१ मंसिर ३० गते परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेको र निष्कृय कर्जा ९एनपीएल० कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्नेछ।