काठमाडौँ– चालू आर्थिक वर्ष २०८०–८१ को चार महिनामा १९ करोड रुपैयाँभन्दा धेरैको चुइगम आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा विश्वका दर्जन देशबाट नेपालमा चुइगम आयात हुने गरेको छ। जसमध्ये सबैभन्दा धेरै र आयातकर्ताले बिक्रीका लागि भने भारतबाट मात्रै ल्याउने गरेकाछन्।
यस अवधिमा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ। भारतबाट ५ लाख ६० हजार किलोग्राम चुइमग भित्रिँदा १५ करोड रुपैयाँभन्दा धेरैको भन्सार राजश्व उठेको विभागले जनाएको छ।
यसबाहेक, अमेरिकाबाट २८ लाख ७९ हजार रुपैयाँको र बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम भित्रिएको छ। यसबाहेक अन्य मुलुकबाट भने न्यून मात्रामा आउने गरेको छ। यात्रुहरु ओहोर दोहोर गर्दा आउने परिणाम मात्रै आउने गरेको विभागको तथ्यांकले देखाएको छ।