काठमाडौं– केपी ओली कप टी–२० क्रिकेटमा कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ५७ रनले हराएको छ।
पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो।
पुलिसका ओपनर ब्याटर कुशल भुर्तेलले १०२ रन बनाए। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका हुन्।
अर्का ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका सहित ४५ रन बनाए। करण केसी १६ र कप्तान आरिफ शेख ६ रनमा अविजित रहे।
मधेशका लागि विशाल पटेल र विशाल शुस्लिङले समान २र२ विकेट लिए।
पुलिसले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको मधेश १८।२ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक ४० रन बनाए। इमरान शेखले २२ तथा रोहन विक र राकेश कमाटले समान १० रन बनाए।
पुलिसका लागि बलिङमा करण केसी, रशिद खान, ललित राजवंशी र सागर ढकालले समान २–२ विकेट लिए। कुशल भुर्तेल र सुनिल धमलाले समान १–१ विकेट लिए।