काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई नभेटी फर्किएको छ।
प्रसाईँ नजरबन्दमा रहेको भन्ने समाचारहरू आएपछि उनको अवस्था बुझ्न मानव अधिकार आयोगको टोली शुक्रबार प्रसाईँ निवास भक्तपुर गएको थियो। तर, प्रसाईँका समर्थकहरूले उनलाई भेट्नबाट रोकेका थिए। आयोगको टोली करिब ४५ मिनेट गेटमा बसेर फर्किएको थियो।
‘प्रसाईँलाई नजरबन्दमा राखिएको हो हाइन, उहाँलाई बाहिर निस्कन दिएको छ छैन भन्ने बारेमा बुझ्नका लागि हाम्रो टोली प्रसाईँको निवासमा गएको हो,’ आयोग स्रोतले भन्यो, ‘सुरक्षाकर्मीले रोकेनन्, प्रसाईँकै समर्थकले रोके। यसलाई नजरबन्द भन्ने कि के भन्ने ?
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार उनलाई नजरबन्दमा नभई सुरक्षाका कारण थप निगरानीमा राखिएको छ। गणतन्त्र विरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो।