काठमाडौं – जाडोह्वात्तै बढेको छ। काठमाडौं लगायत देशभरको मौसममा आएको अदलबदलका कारण धेरैलाई मौसमी रुघाखोकीले सताउने गर्छ। कोरोनाको त्रासकाबीच मौसमी फ्लू भएका मानिसहरु पनि निकै आत्तिएका छन्। कोरोनाको कहरमा जाडोमा अझ भयावह हुनसक्ने भनदै विज्ञले चेतावनी दिईरहेका कारण धेरै अभिभावकलाई बच्चाहरुको हेरचाह कसरी गर्ने, यो जाडो कसरी कटाउने भन्ने चिन्ता पनि सुरु भएको छ। किनकी जाडो मौसम यसैपनि बालबालिकाको लागि सबैभन्दा संवेदनशील समय हो।
यो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्ने, श्वासप्रश्वासको समस्या, निमोनिया, टन्सील, छाला फुट्ने जस्ता समस्याले सताउन सक्छ। त्यसकारण यस्ता समस्याबाट बचाउन चिकित्सकसँग कुराकानी गरी लोकपथले केहि टिप्स यहाँ प्रस्तुत गरेको छ।
१.जाडोको समयमा बाक्लो र धेरै लुगा लगाइदिनु हुँदैन। बाक्लो लुगा लगाउँदा शरीरबाट पसिना आउँछ र शरीरमा नै सुक्छ। यसकारण बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुनाले अभिभावकले यो कुरामा विचार पुर्याउनु पर्छ।
२. विहान र वेलुका अन्य समयमा भन्दा बढी चिसो हावा चल्ने भएकोले बालबालिकालाई घर बाहिर, चौरमा, चौतरामा, खेल्न वा हिँडडुलमा निस्कन नदिने।
३. घाममा राख्दा समय समयमा पानी खुवाउने। तर जाडो महिनाभरी राम्ररी उमालेको मनतातो पानी प्रयोग गर्नुहोस्। साना बालबाबालिकालाई बिहानीपखको घाममा सुताउँदा उनीहरूलाई भिटामिन डी प्राप्त हुन्छ।
४. साँझ बिहान खेलेर आएपछि उनीहरुको कपडा परिवर्तन गरिदिनुहोस् र हलुका मोस्चराईज गरिदिनुहोस्।
५. न्यानो कपडा लगाईदिने । तर बाक्लो कपडा प्रयोग नगरिदिनुहोस्।
६. मौसमी फलफुल खुवाउनुहोस् तर अत्याधिक चिसो हुने फलफूल नखुवाउनुहोस्। चिसो समयमा फलफूललाई तातो पानीले धोएर वा तातो पानीमा डुबाएर खुवाउन सकिन्छ।
७. हिटर बालेर लामो समयसम्म बच्चालाई सेकाउनु हुँदैन। सहज रुपमा हावा आवतजावत गर्ने कोठामा बस्ने, सुत्ने, खेल्ने वातावरण मिलाउनुहोस्।
८. झोलिलो खानेकुरा खुवाउनुहोस्।
९. नवजात शिशुको कपडा समय समयमा फेर्ने, डाईपर लामो समयसम्म एउटै प्रयोग गर्नुहुँदैन।
१०. कहिलेकाहिँ रुघाखोकीले गर्दा बालबालिकाको नाक टालिने गर्छ। तर भिक्स, सन्चो वा अन्य चिज नलगाउनहोस् बरु नरम कपडा या कपासले सफा गरिदिनुहोस्।
ज्ञज्ञ। बजारमा किनेको दूधमा अन्य अखाद्य कुरा पनि मिसिएको हुनसक्छ । अभिभावकले यो कुरा मनन गरी राम्ररी तताएर केहि बेर पाक्न दिएर मात्रै दुध आफ्ना बालबालिकालाई पिलाउनुहोस् ।
याद गर्नुहोस् नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ।
११. ६ महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ खुवाउनुपर्छ।
१२.जाडोको समयमा बालबालिकाको सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ। ३ देखि ४ दिनको बिचमा मनतातो पानीले घाम लागेको ठाउँमा नुहाएर तौलियाले पुछेर न्यानो कपडा लगाईदिनुहोस्।
यसका अलावा बालबालिकालाई स्वस्थ राखि आमाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ।
कुन रोगमा कस्ता लक्षण देखिन्छन्?
बच्चालाई रूघाखोकीको समस्या भयो भने नाकबाट पानी बग्ने, नाक बन्द हुने, हाछ्युँ आउनेलगायत समस्या हुन्छन्। घाँटीसम्बन्धी समस्या हुँदा आवाज परिवर्तन हुने, निल्न गाह्रो हुने, बोली परिवर्तन हुने हुन्छ। कानसम्बन्धी समस्या भयो भने कानबाट पीप आउने, सुन्नमा गाह्रो हुने अनि बच्चालाई ुइरिटेटु हुने हुन्छ।
दम भयो भने हल्का ज्वरो आउने, घाँटी घ्यारघ्यार हुने अनि कोखा हान्ने हुन्छ। त्यस्तै शरीरमा अक्सिजनको मात्रा कम हुन्छ। बच्चालाई निमोनिया भएको छ भने ज्वरो आउने, छिटो(छिटो श्वास फेर्ने हुन्छ। कतिपय अवस्थामा बच्चा बेहोससम्म हुन सक्छ।
बच्चालाई पेटको समस्या भए पेट दुख्ने, खानमा अरूची हुने अनि दिसा बढी लाग्ने हुन्छ।
आँखासम्बन्धी रोग लागे आँखा रातो हुने, आँशु धेरै बग्ने, हेर्न गाह्रो हुने, आँखा बढी चिलाउने अनि चिप्रा बढी लाग्नेलगायतका लक्षण देखिन्छन्।
उपचार कसरी गर्ने?
कुनै समस्या देखिए पहिलो उपचार विधि बच्चालाई तातो बनाएर राख्ने नै हो। प्रशस्त झोलिलो खाना खुवाउनुपर्छ। जाडोमा बढी भाइरल हुने र त्यसले गर्दा ज्वरो आउने भएकाले यस्तो बेलामा सिटामोल खान दिनुपर्छ तर जथाभाबी एन्टिबायोटिकको प्रयोग भने गर्नु हुँदैन।
भाइरलबाट जोगिन खोप पनि लगाउन सकिन्छ। चिसो मौसम सुरू हुनुभन्दा पहिला इन्फ्लुएन्जाको खोप लगाउने गरियो भने पखाला लगायत समस्याबाट ८० प्रतिशतसम्म जोगिन सकिन्छ।
बिराम लाग्नै नदिन के गर्ने?
पहिला सामान्य कुरामा ध्यान दिन सकियो भने यस्ता समस्याबाट जोगाउन सकिन्छ। त्यो भनेको सबैभन्दा पहिला बच्चालाई न्यानो बनाएर राख्ने हो। प्रशस्त मात्रामा झोल चिज खान अनि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्छ। खानुभन्दा पहिला हात धुन सिकाउने र हात धोएर मात्रै खान दिने गर्नुपर्छ। पोषणयुक्त खाना खुवाउन पर्छ जसले रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। जथाभाबी औषधि किनेर खुवाउनु हुँदैन।
फलफूल, हरियो सागसब्जी र माछा मासुको झोल खुवाउनुपर्छ। सामान्य ज्वरो आएको छ, बच्चाले राम्रैसँग खाएको छ, बच्चा शिथिल छैन भने घरमै उपचार गर्न सकिन्छ।
अलि धेरै ज्वरो आयो, बच्चाले धेरै छिटो सास फेर्यो र कोखा हान्ने, बच्चा बेहोस हुने, बच्चालाई दिसा लाग्ने तथा वान्ता भइरहने भयो भने त्यस्तो अवस्थामा अस्पताल लगेर उपचार गर्नुपर्छ।