बागमती प्रदेश सेमिफाइनलमा - Chaitanya News
  • 2026-06-08
  • 01:58:39
  • आइतबार,जेठ २४, २०८३
  • पोखरा– बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

    कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।

    रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती सेमिफाइनलमा प्रवेश गरेको हो।

    पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो। बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले। उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे।

    त्यस्तै वान डाउन आएका इशानले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रनको आक्रमक पारी खेले। प्रतिश जिसी १२ रनमा अपराजित भए। अन्य कुनै ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

    कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए। दिवान पुन र अनुज चहराले १–१ विकेट लिए।

    बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७।३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो।

    कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कपतान रविन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १–१ विकेट लिए।

    पहिलो खेलमा बिहीबार बागमतीले आयोजक मदन भण्डारी स्टोर्टस एकेडेमी ९रातो० लाई हराएको थियो। बागमतीले मंसिर १४ गते सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ। समुह डीमा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्टोर्टस एकेडेमी (नीलो) छन्।