कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित - Chaitanya News
  • 2026-11-19
  • 12:50:24
  • बिहिबार,मंसिर ०४, २०८३
  • कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित

    कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित

    सप्तरी– गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय बोदे बर्साइन सप्तरीको सेवा प्रभावित भएको छ।

    कार्यालय प्रमुख नहुँदा एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता छ। इलाका प्रशासनको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि सकिएपछि नयाँ व्यवस्था नहुँदा कार्यालय प्रमुख विहीन बनेको हो।

    मन्त्रालयले राउतलाई दिएको जिम्मेवारी गत असोज २५ मा सकिएको हो। विगत ३ वर्षदेखि कार्यरत राउतलाई यसअघि चार पटकसम्म कामुको जिम्मेवारी दिइएको थियो। तर, यसपटक न नयाँ कर्मचारी खटाइएको छ, न राउतलाई नै कामुको जिम्मेवारी दिइएको छ। डेढ महिनासम्म मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित छन्। राउतले भने, ‘सेवाग्राहीका कागजपत्र जम्मा गर्ने र दुई–तीन दिनमा राजविराज गलेर प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गराउने गरिएको छ। एक घण्टामै हुने काम पनि तीन दिनसम्म लाग्ने गरेको छ।

    इलाका प्रशासनबाट दिने सेवा रोकिएपछि जिल्लाका बोदे बर्साइन नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बलान बिहुल गाउँपालिका गरी २६ वडाका सेवाग्राही मर्कामा परेका छन्। सेवाग्राही राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय जानु पर्ने बाध्यता छ।

    योसँगै इलाका प्रशासन कार्यालयका कर्मचारीको एक महिनाको तलबसमेत रोकिएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले इलाका प्रशासन कार्यालयको कायममुकायम शाखा अधिकृतको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकिएको बताए। ‘हामीले जानकारी गराइ सकेका छौं,’ उनले भने, ‘तलब खुवाउने अधिकार दिनका लागि पनि पत्राचार भएको छ। तर, आदेश आएको छैन।

    गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निजामती सेवा ऐनमा एउटै पदमा उही व्यक्तिलाई वा फरक(फरक व्यक्तिलाई लगातार कायममुकायम दिन नमिल्ने व्यवस्था भएकाले भइरहेको व्यक्तिलाई निरन्तरता दिन कानुनी अड्चन देखिएको हो। उनले भने, ‘नयाँ कर्मचारी खटाउने तयारी भइरहेको छ।२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय बोदे बर्साइन स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ। अधिकृतस्तरको दरबन्दी भए पनि मन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन।

    त्यसो त जिल्ला प्रशासन कार्यालय सप्तरीमा पनि कर्मचारीको अभाव छ। सहायक प्रमुख जिल्ला अधिकारी काजमा काठमाडौँ गएपछि सेवा प्रवाहमा समस्या भएको हो। दरबन्दीको कर्मचारी नखटाउँदा र भएको कर्मचारी पनि काजमा अन्यत्र गइदिँदा प्रमुख जिल्ला अधिकारीमाथि कामको चाप बढेको छ। कार्यालयमा तीन जना अधिकृतको दरबन्दी छ। जसमा एउटा दरबन्दी रिक्त छ। एक जना बिदामा छन् भने भएका पनि काजमा हिडेंपछि समस्या भएको हो।