व्यवसायी दुर्गा प्रसाईँ प्रशासनको निगरानीमा - Chaitanya News
  • 2026-11-16
  • 09:05:51
  • सोमबार,मंसिर ०१, २०८३
  • व्यवसायी दुर्गा प्रसाईँ प्रशासनको निगरानीमा

    व्यवसायी दुर्गा प्रसाईँ प्रशासनको निगरानीमा

    भक्तपुर– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सुरक्षा निगरानीमा राखिएको छ। भक्तपुर थिमीस्थित उनको निवासमा प्रहरी तैनाथ गरिएको छ।

    सुरक्षाका कारण उनलाई थप निगरानीमा राखेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन्। उनले भनिन्, ‘उहाँको सुरक्षामा पहिलेदेखि नै सुरक्षाकर्मी खटिएकै थिए। अहिले थप निगरानी बढाएको मात्र हो। बाहिर निस्कन बन्देज गरिएको छैन ।’ प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा विरोधका कार्यक्रम गर्ने योजना बनाएको थियो। उक्त कार्यक्रम गर्न अनुमति नदिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    गणतन्त्रविरोधी कार्यक्रम गर्न थालेपछि प्रहरी–प्रशासनले प्रसाईँमाथिको निगरानी बढाइएको हो। नेपाल प्रहरीको विशेष कार्यदलको टोलीले अहिले प्रसाईँको घरलाई वरपरबाट घेरेको छ। उनलाई त्यहाँबाट बाहिर निस्कन नदिने प्रहरीको तयारी छ।