दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने - Chaitanya News
  • 2026-06-07
  • 10:26:51
  • आइतबार,जेठ २४, २०८३
  • दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने

    दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने

    काठमाडौँ– भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी छ। मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

    यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको थियो। त्यस्तै दक्षिण अफ्रिका पनि अंक तालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

    अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले लिग चरणका ८–८ खेल खेलिसकेका छन्। यी तीनै टिमले अब एक–एक खेल खेल्न बाँकी छ। यद्यपि यी तीनै टिमको बाँकी खेलले यिनको आफ्नै समीकरणमा भने खासै प्रभाव पार्ने छैन। किनकि, भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलियाको समान १२–१२ अंक छ।

    शीर्ष चार टोलीमध्ये पहिलो सेमिफाइनल खेल पहिलो नम्बरमा रहेको टिम र चौथो नम्बरमा रहेको टिमबिच हुनेछ। यस्तै, दोस्रो र तेस्रो नम्बरमा रहेका टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ। त्यसैले आफ्नो बाँकी एक खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले हारे पनि वा जिते पनि यी दुई टोली नै दोस्रो र तेस्रो पोजिसनमा रहने छन् । किनकि, चौथो स्थानमा पुग्ने टोलीसँग बढीमा १० अंकमात्र हुनेछ।

    यसअर्थ, जारी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। सेमिफाइनलमा पुग्ने चौथो टिमसँग भारतले प्रतिस्पर्धा गर्नेछ। तर, सेमिफाइनलको चौथो सिटका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान दाबेदारका रुपमा देखिएका छन्। यी तीन वटै टिमसँग हाल ८–८ अंक छ। यिनैमध्ये कुनै एउटा टिमसँग भारतले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ।