सर्वदलीय बैठकबाट निस्किए माधव नेपाल , रास्वपा र राप्रपाको पनि अनुपस्थित - Chaitanya News
  • 2026-11-16
  • 09:06:01
  • सोमबार,मंसिर ०१, २०८३
  • सर्वदलीय बैठकबाट निस्किए माधव नेपाल , रास्वपा र राप्रपाको पनि अनुपस्थित

    सर्वदलीय बैठकबाट निस्किए माधव नेपाल , रास्वपा र राप्रपाको पनि अनुपस्थित

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सर्वदलीय बैठकमा सत्तागठबन्धन घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल केही बेरमै निस्किएका छन्।

    सिंहदरवारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीको प्रतिवाद गरे। ‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन। दलहरूमा एकता आवश्यकता छ। व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन’, नेपालले भने।

    व्यवस्थामा सुधार गरेर अवस्थामा आमूल परिवर्तन ल्याउनुपर्नेमा उनको जोड थियो। उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आफूहरूको अवरोध नभएको बताए। प्रधानमन्त्रीले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरूको सहभागितामा सर्वदलीय बैठक राखेका हुन्।

    पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेकाले प्रधानमन्त्रीले बैठक डाकेको बताइएको छ।

    दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरूको बैठक भएकाले रास्वपा लगायत नयाँ दल र राप्रपाको भने सहभागिता छैन।