काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका छन्।
आज (मंगलबार) जाजरकोटका भूकम्प प्रभावितसँगको भेटमा उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ। चिन्ता गर्न पर्दैन। म सरकारसँग कुरा गर्छु’, राष्ट्रपतिको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
उनले भूकम्प प्रभावितलाई जाडोयाम र वर्षाका बेलामा समस्या नहुने गरी अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने बताएका छन्। त्यस्तै स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ।
उनले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गरेका छन्।
अहिलेको कठिन अवस्थामा भूकम्प प्रभावितलाई ठग्ने र झुक्याउनेजस्ता गलत काम हुन सक्ने भन्दै राष्ट्रपतिले सचेत र सतर्क हुन आग्रह गरेका छन्। ‘तपाईंहरुको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्’, राष्ट्रपति पौडेलको भनाइ उधृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।
राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए। घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी राष्ट्रपतिलाई जानकारी गराएका थिए। राष्ट्रपतिले जाजरकोट सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिने पोखरेलले बताए।
राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।