काठमाडौँ– नेकपा एकीकृत समाजवादीले भूकम्प प्रभावितहरुलाई सहयोग गर्न सरकारी कोषमा २५ लाख रकम जम्मा गर्ने भएको छ।
आज (सोमबार) बसेको पार्टीको सचिवालय बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्न पार्टीले २५ लाख रुपैयाँ सरकारी कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
एकीकृत समाजवादीले उक्त रकम पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिका साथै कार्यकर्ताहरुबाट संकलन गर्ने भएको छ। सो पार्टीले भुकम्पप्रभावितका लागि उद्धार र राहतमा सहयोग गर्न यसअघि पार्टी उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई खटाइसकेको छ।
‘पार्टीका कार्यकर्ताबाट आर्थिक सहयोग संकलन गरी सरकारी राहत कोषमा २५ लाख प्रदान गर्ने निर्णय भएको छ। उक्त प्रयोजनका लागि केन्द्र, प्रदेशका मन्त्री, जनप्रतिनिधिबाट १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ’, प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।