ओमानसँग बदला लिँदै उपाधि जित्ने सोचमा नेपाल - Chaitanya News
  • 2026-06-07
  • 10:28:01
  • आइतबार,जेठ २४, २०८३
  • ओमानसँग बदला लिँदै उपाधि जित्ने सोचमा नेपाल

    ओमानसँग बदला लिँदै उपाधि जित्ने सोचमा नेपाल

    काठमाडौं- टी-२० विश्वकप छनौटको एसिया क्षेत्रको फाइनलमा आज नेपाल र ओमानबीच भिडन्त हुँदैछ। टियु क्रिकेट मैदानमा यो खेल बिहान ११ बजेदेखि सुरु हुनेछ।

    यसअघि समूह चरणको अन्तिम खेलमा भिडेका नेपाल र ओमान फाइनलमा फेरी आमने सामने हुँदैछन्। समूह चरणको खेलमा ओमानले नेपाललाई ५ रनले पराजित गरेको थियो।

    अब फाइनलमा एसिया क्षेत्रको छनौटको विजेता हुन नेपाल र ओमान भिड्दै छन्। फाइनलमा पुगेसँगै नेपाल र ओमान अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपका लागि छनौट भइसकेका छन्। त्यसैले पनि दुवै देश बिना दबाब यो फाइनल खेल्ने छन्।

    नेपाल र ओमानबीच अहिलेसम्म ५ खेल भएका छन्। जसमा नेपालले ३ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ। घरेलु मैदानमा हुने फाइनलमा नेपालले पुरा शक्ति लगाएर खेल्ने छ नेपालको लक्ष्य समूह चरणको हारको बदलासमेत लिँदै उपाधि जित्ने हुनेछ।

    युएईविरुद्धको सेमिफाइनलमा टिममा सामेल भएका दिपेन्द्रसिंह ऐरी यस खेलमा खेल्ने बारे आशंका रहेको छ। पूर्णरुपमा फिट नभएपनि दिपेन्द्रलाई टिममा समावेश गरेर युएईमाथि दबाब बनाएको थियो। तर अब नेपाल विश्वकपमा छनौट भएको अवस्थामा दिपेन्द्रलाई यस खेलमा आराम दिनु सही निर्णय हुने छ।

    नेपालको सम्भावित प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, सन्दीप लामिछाने र अविनाश बोहोरा।