सबै मिलेर भूकम्पले चहराएका घाउमा मलम लगाऔं - Chaitanya News
  • 2026-11-19
  • 12:20:05
  • बिहिबार,मंसिर ०४, २०८३
  • सबै मिलेर भूकम्पले चहराएका घाउमा मलम लगाऔं

    सबै मिलेर भूकम्पले चहराएका घाउमा मलम लगाऔं

    सम्पादकीय

    शुक्रबार मध्यराति सदा झैँ जाजरकोट र रुकुम पश्चिमबासी गहिरो निन्द्रामा थिए। उनीहरूलाई के थाहा बिनासकारी भूकम्पले ठूलोव विपत्ति निम्त्याउने छ भनेर। गहिरो निन्द्रामा रहेकै समयमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ।

    सयौं घर भत्किएका छन्। ति घरमा च्यापिएर अहिलेसम्म १५७ जनाको निधन भएको सरकारी तथ्याङ्क छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। घाइतेको संख्या १६६ पुगेको छ।

    भूकम्पले हजारौं विस्थापित तुल्याइदिएको छ। आफन्त गुमाउनुका साथै विस्तापित हुँदा भूकम्प पीडितहरू निकै समस्यामा रहेका छन्। उनीहरूको गाँस, बास र कपास खोसिएको छ।

    उनीहरूले अहिले कहाँ जाने, के खाने र के गर्ने भन्ने समस्यामा छन्। यो उनीहरूको जीवनकै सबैभन्दा ठूलो हो। हाम्रै नेपाली दाजुभाइ पिडामा रहेको समयमा सबैले मिलेर चहराइरहेका घाउँमा मलम लगाउनुपपर्छ। सकेको सहयोग गर्नुपर्छ।

    उनीहरूको पीडा हामी सबै नेपालीको साझा पीडा हो। दु:खमा साथ दिनु हामी सबैको धर्म पनि हो।

    प्रकृतिको लीलालाई टार्न त सकिँदैन। तर, प्रकृतिले दिएको चोटलाई कम गर्न हामी सबै एक हुनुपर्छ। मिलेर सहयोग गर्नुपर्छ।

    अब जाजरकोट र पश्चिम रूकुममा सहानुभूतिका शब्दहरू होइन सहयोगी मन र हातहरूको खाँचो छ। एउटा नेपालीलाई दुख्दा अर्को नेपालीको मन मुटु पनि दुख्नुपर्छ। यो हामी नेपालीको संस्कार हो। यस्तो विपतिको बेलामा सबैले सहयोगी र हातेमालोको संस्कार देखाउनुपर्छ।

    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै नेपालीले जाजरकोट र पश्चिम रूकुमबासीले भोग्नुपरेको समस्यालाई आफ्नै समस्या सम्झेर राहत र सहयोगमा हातेमालो गर्नु अहिलेको अहम् आवश्यकता हो। आ–आफ्नो ठाउँबाट आफ्नो गच्छेअनुसार राहत प्रदान गरौं। भूकम्पबाट पीडित भएर चहराइरहेको घाउमा राहतरूपी मलहम लगाऊँ।

    सरकारले पनि आफ्ना सबै संयन्त्रहरू प्रयोग गरेर खोज, उद्धार र राहतलाई जादुमय किसिमले अघि बढाउनुपर्छ। ताकि पीडितले मुलुकमा वास्तविक र आफ्नै सरकार भएको अनुभूति गर्न सकून्।