केन्द्रीकृत मानसिकताका कारण सङ्घीयतालाई स्वीकार गरेन : मुख्यमन्त्री पाण्डे - Chaitanya News
  • 2026-11-16
  • 10:21:14
  • सोमबार,मंसिर ०१, २०८३
  • केन्द्रीकृत मानसिकताका कारण सङ्घीयतालाई स्वीकार गरेन : मुख्यमन्त्री पाण्डे

    केन्द्रीकृत मानसिकताका कारण सङ्घीयतालाई स्वीकार गरेन : मुख्यमन्त्री पाण्डे

    पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताका कारण सङ्घीयतालाई स्वीकार नगरिएको बताएका छन्। आज (शुक्रबार) बागलुङ कांग्रेसको जिल्ला भेला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सङ्घ सरकारको नेतृत्व गर्नेहरूले नै सङ्घीयतालाई नटेरेको समेत बताए। उनले भने, ‘हाम्रो केन्द्रीकृत मानसिकता बदल्न सकेका छैनौँ। संघमा बस्नेहरूले नै प्रदेशको काम कारबाहीको बारेमा उहाँहरूले आफैँ प्रश्न चिन्ह खडा गर्नुभएको छ।

    कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पाण्डेले पार्टी र सरकार अलग अलग बाटो हिँडेका कारण समाजवाद प्राप्तिमा समस्या भएको बताए। अब म छिट्टै आफ्नै उपस्थितिमा हरेक जिल्लामा पार्टीका पदाधिकारी र सदस्य तथा सरकारका पदाधिकारी र सदस्य बिच अन्तरक्रिया गर्न चाहन्छु। सरकार एउटा बाटोबाट र पार्टी अर्को बाटोबाट हिँड्दा समाजवाद प्राप्त गर्न सकेनौँ,’ उनी भन्छन्, ‘पटक पटक सरकारले आफ्नो बाटो तय गरेर अलग अलग हिँड्दा भएका दुर्घटना देखेको छु। त्यसकारण पार्टी र सरकारसँगै हुनुपर्छ भन्ने मेरो बुझाई छ।

    उनले स्थानीय तह र प्रदेशबिच सहकार्य र समन्वय जरुरत रहेको तर हुन नसकेको बताए। पाण्डेले आफ्नो कारणले कसैले पनि शिर झुकाउने अवस्था नआउने बताए। ‘तपाईँहरू ढुक्क हुनुस्, मेरो नेतृत्वमा गण्डकी सरकार छ। हाम्रा कारणले कुनै पनि कांग्रेसका कार्यकर्ताले शिर झुकाउनुपर्ने अवस्था आउँदैन,’ उनले भने, ‘म त्यसको ग्यारेन्टी गर्छु।

    उनले अब पहुँचका आधारमा बजेट विनियोजन गर्ने प्रणालीको अन्त्य भएको सुनाए। ‘यसपालि हामी बजेट बनाउनुभन्दा डेढ महिना अगाडी मात्रै सरकारमा गएका थियौँ। चाहेर पनि कतिपय योजना समावेश गर्न सकेनौँ,’ उनी भन्छन्, ‘अब पहुँचका भरमा होइन, प्राथमिकता र आवश्यकताका आधारमा योजना छान्छ, बजेट विनियोजन गर्छ। हाम्रो योजना आयोग आउँछ।