काठमाडौँ महानगरले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै - Chaitanya News
  • 2026-05-03
  • 06:44:39
  • आइतबार,बैशाख २०, २०८३
  • काठमाडौँ महानगरले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

    काठमाडौँ महानगरले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्दै

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ। महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो। त्यसका लागि दरखास्त आह्वान गरेको छ।

    पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए।

    महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको हो। आवेदकहरूमध्ये विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणमार्फत छनोट गरिने महानगरले जनाएको छ।

    विद्यालय समायोजन वा थपघट भएमा सङ्ख्या थपघट हुनसक्ने महानगरले जनाएको छ। महानगरले मंसिर १ गतेसम्म इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ। प्रधानाध्यापकका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि पुरा गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

    माध्यमिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ।

    महानगरले स्रोत शिक्षकका लागि समेत दरखास्त आह्वान गरेको छ। स्रोत शिक्षक व्यवस्थापन कार्यविधि २०८० अनुसार ११ जना स्रोत शिक्षकका लागि दरखास्त आह्वान गरेको हो। महानगरले २ जना अंग्रेजी विषय, २ जना नेपाली, ३ जना गणित, २२ जना सामाजिक र विज्ञान विषयको स्रोत शिक्षकको माग गरेको हो।

    स्रोत शिक्षकको हकमा माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको शिक्षक हुनुपर्नेछ। ती शिक्षक काठमाडौँ महानगरपालिका भित्रको सामुदायिक विद्यालयमा कार्यरत रहेको हुनुपर्नेछ।