काठमाडौँ– पार्टी सुदृढीकरण अभियान चलाइरहेको नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित अभियानको तयारी थालेको छ।
भदौमा सिरहामा बसेको सचिवालयको बैठकको निर्णयअनुसार एमालेले मंसिरमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियान चलाउने भएको हो।
अभियानको बाटो अवलोकनका लागि दुई उपमहासचिव अहिले खटिएका छन्। उनीहरूले जिल्ला(जिल्ला पुगेर त्यहाँको पार्टी नेतृत्व, जनवर्गीय सङ्गठनसँग अन्तरक्रिया र सुझावसमेत सङ्कलन गर्नेछन्। अहिले उपमहासचिव प्रदीप ज्ञवाली पाँचथरको चिवाभञ्ज्याङ पुगेका छन्। सो भूमि पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमबिन्दु र नेपाल तथा भारतको सिक्किम राज्यको सिमाना पनि हो।
अर्का उपमहासचिव विष्णु रिमाल भारतसँगको सीमा नाका बैतडीको झुलाघाट नाका पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाट नाकाबाट अभियानको थालनी गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। उनका अनुसार अहिलेसम्म अभियानको मिति भने घोषणा भइरहेको छैन।
उनले भने, ‘अब अभियानको मिति केन्द्रीय कमिटीको बैठकले घोषणा गर्छ। त्यसअघि यही २२र२३ गते सचिवालयको बैठक बस्छ। सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्ताव लैजान्छ। सोहीअनुसार त्यो बैठकको अभियानको घोषणा गर्छ।
केन्द्रीय कमिटीको बैठक मंसिर दोस्रो सातामा बस्ने तयारी रहेको उनले बताए। अभियान बैतडीको झुलाघाटबाट सुरु हुने उनको भनाइ छ।
एमालेले गत मंसिरको निर्वाचन लगत्तै मिसन ०८४ लाई केन्द्रमा राखेर पार्टी सङ्गठनलाई सक्रिय बनाएको छ। यसअघि गत फागुनदेखि तीन महिने मिसन ग्रासरूट अभियान चलाएको थियो। पार्टी अध्यक्ष ओलीले ०८४ मा पार्टीले एकल बहुमत ल्याउनुपर्ने भन्दै पार्टीपंक्तिलाई सोही अनुसार खट्न निर्देशन समेत दिइसकेका छन्।