काठमाडौँ– नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेको संविधान असफल गर्ने छुट कसैलाई नभएको बताएका छन्।
आज (बिहिबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले संविधान असफल भयो भने मुलुक एउटा अनिष्टकारी खतरा, विषम परिस्थितिमा पुग्न सक्ने समेत बताए।
उनले भने, ‘यो संविधान धेरै ठूला क्रान्ति र बलिदानहरूको ७० वर्ष लामो ठूलो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो। यतिका संविधान असफल भइसकेको अवस्थामा यो संविधान पनि असफल हुने स्थिति आयो भने मुलुकलाई राम्रो गर्दैन। त्यसैले यो संविधानलाई सफल गर्नुछ। यसलाई सफल बनाउनको लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्नुपर्छ।
अहिलेको पुराना राजनीतिक दल र यो संविधानले काम गर्न सक्दैन भन्ने भाष्य खडा गर्न खोजिएको उनको भनाइ थियो।
उनले भने, ‘यो संविधान र व्यवस्था असफल भयो भने मैले आग्रह गरेँ मुलुक ठिक ठाउँमा पुग्दैन। त्यसैले यो संविधान र व्यवस्थाको सुरक्षाको लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनु जरुरी छ।