आर्थिक वर्ष २०७९–८०मा लोकसेवा पास गर्नेमा गुल्मी स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै - Chaitanya News
  • 2026-05-03
  • 06:44:39
  • आइतबार,बैशाख २०, २०८३
  • आर्थिक वर्ष २०७९–८०मा लोकसेवा पास गर्नेमा गुल्मी स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै

    आर्थिक वर्ष २०७९–८०मा लोकसेवा पास गर्नेमा गुल्मी स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै

    काठमाडौं– गत आर्थिक वर्ष २०७९–८० मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन्। लोकसेवा आयोगका अनुसार गुल्मीपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै छन्।

    आर्थिक वर्ष २०७९–०८० को अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

    पछिल्ला समयमा कर्णालीका हुम्ला लगायतका जिल्लामा समेत लोकसेवा आयोगको परीक्षा दिने र पास गरेर निजामती सेवामा प्रवेश गर्ने क्रम चुलिएको छ। गुल्मी र स्याङ्जामा लोकसेवा तयारी गर्ने र पास गर्नेको संख्या अधिक हुँदा निजामतीेमा उनीहरुको नै वर्चस्व छ।

    पछिल्ला समयमा तराईका धनुषा र सर्लाहीजस्ता जिल्लामा समेत लोकसेवा आयोगका परीक्षा पास गर्नेहरु बढ्दै गएको प्रतिवेदनले जनाएको छ। गत आर्थिक वर्षमा सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष रहेको आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईँले जानकारी दिइन्।

    सो अवधिमा सिफारिस भएका कूल २ हजार ६ सय ७५ पदमध्ये आर्थिक वर्ष २०७६–०७७ मा भएका विज्ञापनबाट ६ सय ४, आर्थिक वर्ष २०७७–०७८ मा भएका विज्ञापनका १ हजार ६ सय २३ आर्थिक वर्ष २०७८–०७९ मा भएका विज्ञापनका १ हजार १ सय १२, र आर्थिक वर्ष २०७९–०८० मा भएका विज्ञापनबाट २ सय ५२ गरी जम्मा ३ हजार ६ सय ७५ पद सिफारिस भएका हुन्।

    एक वर्षमा मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन्। मधेश प्रदेशबाट सबैभन्दा बढी ६ सय ०४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३ सय ९१ उम्मेदवार सिफारिस भएका थिए।

    समावेशी समूहतर्फका विज्ञापनबाट महिलातर्फ १ सय, आदिवासी–जनजातितर्फ ४ सय १, मधेसीतर्फ ३ सय १०, दलिततर्फ १ सय ३, अपाङ्गतर्फ ५८ र पिछडिएको क्षेत्रतर्फ ५८ गरी कुल १ हजार ४ सय ६० उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन्। पछिल्लो १६ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २४ हजार १ सय १२ उम्मेदवारहरू स्थायी नियुक्तिका लागि सिफारिस भएको आयोगले जनाएको छ।

    विभिन्न सेवा सञ्चालन गर्ने निकायहरूबाट रिक्त पदपूर्तिका लागि आयोगले गत आर्थिक वर्षमा बढुवातर्फ ९ सय ९०, आन्तरिक प्रतियोगितातर्फ २ सय ०१, खुला प्रतियोगितातर्फ १ हजार ८० तथा महिला, आदिवासी–जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी समूहतर्फ जम्मा १ हजार ६ गरी कूल ३ हजार ३ सय ५७ पदका लागि १ हजार ६ सय १६ ओटा विज्ञापन तथा वढुवा सूचना प्रकाशन गरी दरखास्त माग गरिएको थियो।

    आन्तरिक तथा खुला प्रतियोगितात्मक विज्ञापनबाट लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीमा कूल ४ लाख ८३ हजार २ सय ३ दरखास्त प्राप्त भएका थिए। आर्थिक वर्ष २०७९–८० मा नेपालका ७७ वटै जिल्लाबाट दरखास्त परेका छन्।

    लोकसेवा आयोगका अनुसार सबैभन्दा अधिक दरखास्त पर्ने पाँच जिल्लाहरु क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन्। ती पाँच जिल्लाबाट कुल ८१ हजार ४ सय ३ अर्थात् १७ प्रतिशत दरखास्त परेको आयोगकी प्रवक्ता हुमागाईँले जानकारी दिइन्।

    मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त गरेका थिए। यी जिल्लाबाट कुल ३ हजार ७३ अर्थात ०.६३ प्रतिशत मात्र दरखास्त परेको थियो।

    यो अवधिमा आयोगबाट निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा ४५ हजार ७ सय १५ महिला र ८४ हजार ७ सय ६ पुरुष गरी कूल १ लाख ३० हजार ४ सय २१ उम्मेदवार सहभागी भएका थिए। परीक्षामा अनियमितता गर्ने १९ महिला र २४ पुरुष गरी जम्मा ४३ जना उम्मेदवार कारबाहीमा पनि परेको प्रवक्ता हुमागाईँले जानकारी दिइन्।

    आर्थिक वर्ष २०७९–०८० को अवधिमा आयोगबाट ४ वटा सुरक्षा निकाय र ४० ओटा संगठित संस्थाका १८ हजार ६ सय १६ पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने सहमति प्रदान गरिएको थियो। सहमति प्रदान गरिएका सम्बन्धित संस्थाबाट ६ सय ३ वटा विज्ञापन प्रकाशन गरी २ लाख १० हजार ८३ उम्मेदवारले दरखास्त पेश भएका थिए।

    एक वर्षको अवधिमा सहमति प्रदान गरिएबमोजिम ३० ओटा निकायका विभिन्न विज्ञापनका लागि लिइएका लिखित परीक्षामा सुरक्षा निकायतर्फ ९८ प्रतिशत र संगठित संस्थातर्फ ३९ प्रतिशत उम्मेदवारको उपस्थिति रहेको आयोगले जनाएको छ। आयोगबाट सञ्चालित विभिन्न ३० वटा निकायका लिखित परीक्षाबाट १४ हजार ३ सय ७५ उम्मेदवार छनोट गरी अन्तर्वार्ताका लागि सम्बन्धित निकायको पदपूर्ति समितिमा पठाइएको प्रवक्त हुमागाईँले जानकारी दिइन्।