काठमाडौं– जाडो मौसम शुरु भइसकेको छ। मौसमसँगै पहिरन शैली पनि बदलिन्छ। पातला, हल्का कपडा थन्काएर न्यानो कपडा खोज्न थालिएको छ। जाडोमा बाक्लो र पूरा शरीर ढाक्ने न्यानो कपडा खोज्ने गरिन्छ।
यद्यपि अहिले पहिरनको सम्बन्ध आङ ढाक्न वा जाडो छल्नमा मात्र छैन। यो मानिसको व्यक्तित्वसँग अभिन्न रुपले जोडिएको छ। आफ्नो शरीर अनुसार कस्तो पहिरन सुहाउँछ भन्ने कुरामा बढी सचेत हुन थालिएको छ। आफूलाई सुहाउँदो एवं आकर्षक देखिने पहिरनको खोजीले फेसन बजारलाई बाह्रैमास चलायमान बनाउने गर्छ।
जाडोयाममा कस्तो कपडा उपयुक्त?
जाडोमा हाम्रो शरीर न्यानो राख्नुपर्ने हुन्छ। त्यसैले घामको ताप सोस्ने र शरीर सधैं न्यानो प्रदान गर्ने खालका कपडा लगाउँदा उपयुक्त हुन्छ। चिसो मौसममा भने रङ, कपडाको प्रकृति र त्यसको बनोटले पनि असर गर्ने फेसन डिजाइनर डिसी बताउँछिन्।
‘जाडोमा हेर्दा न्यानो देखिने खालका कपडा किन्नु उयुक्त हुन्छ। जाडोमा कालो, गाढा हरियो, बैजनी (पर्पल) वाइन कलरका कपडा लगाउँदा राम्रो देखिन्छ,’ उनी भन्छिन्।
उनका अनुसार जाडोमा रातो, निलो रङका लुगा बढी रुचाइएको पाइन्छ। यस्तै ‘स्टाइलिस’ देखिने नाममा टाइट लुगा लगाउनु राम्रो मानिँदैन। धेरै बाक्लोभन्दा पनि न्यानो हुने फिदर, डाउन ज्याकेट, लङ कोट, आउटर र टिर्सट तथा वानपिस पनि लगाउन सकिन्छ ।
कसरी छान्ने?
शरीर तातो राख्ने, हावा नछिर्ने खालका लुगा छनोट राम्रो हुन्छ। पातलो शरीरमा फिटिङ कोट नै लगाउँदा अझ राम्रो देखिन्छ। मोटो शरीरमा धेरै लुगा लगाउँदा थप मोटो देखिने हुँदा हाफ नेक भएको ऊनीको स्वेटर कोटभित्र लगाउँदा राम्रो देखिन्छ।
बजारमा स्टाइलिस कपडा पाइन्छन्। जस्तै, जिन्स पाइन्टमा ज्याकेट वा कोट, ऊनी स्वेटर, कलरफुल मफलर, पन्जा, टोपीलगायतले स्टाइलिस देखाउँछ।
टिनएजर र युवतीका लागि लङ कोट जाडोमा उपयुक्त मानिन्छ। विशेषगरी मोटो कटन, उलन र पस्मिनाका कोट लगाउने चलन छ। घुँडाभन्दा माथिसम्म आउने कोट लगाउँदा राम्रो देखिन्छ। लङ कोट वा ज्याकेटमा मफलर, बुटजुत्ता लगाउँदा अझ सुन्दर र आकर्षक देखिन्छ। त्यसैगरी बजारमा उलनका टोपी धेरै स्टाइलमा पाइन्छन्। आफू सुहाउँदो टोपी छान्न सकिन्छ।
कपडा धेरै होइन आकर्षक लगाउनुपर्छ
कतिपयले धेरै कपडा देखाउँदा बढी फेसनेबल देखिन्छ भन्ने सोचाइ राखेको भेटिन्छ। यस्तो सोचाइ राख्नेहरु जाडोभन्दा गर्मी मौसम बढी उपयुक्त मान्छन्। तर यो विचार सही हो जस्तो लाग्दैन। कपडा धेरै देखाउँदाभन्दा आफूलाई सुहाउँदो र मौसम अनुकूलको कपडा लगाउँदा बढी फेसनेबल देखिन्छ। सबै शरीर ढाकेर पनि कपडाको रंग र कपडाको आकारको आधारमा फरक फेसन देखाउन सकिन्छ।
तर पूरै शरीर ढाक्ने, बाक्लो पहिरनमा पनि कसरी फेसनेबल देखिन के गर्ने त? भन्ने प्रश्न आउन सक्छ। त्यसको लागि बडी टोन देखाएर कपडाको डिजाइन गर्ने र स्किनी बेस बनाएर पनि देखाउन सकिन्छ।