प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच बालुवाटारमा छलफल - Chaitanya News
  • 2026-11-16
  • 10:21:04
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच बालुवाटारमा छलफल

    प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच बालुवाटारमा छलफल

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

    संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहान बालुवाटारमा देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।

    यसअघि पनि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटेर शान्ति प्रक्रियामा सहमति जुटाउने प्रयास गर्दै आइरहेका छन्। तर, ओलीले आफ्नो कारणले नभई प्रधानमन्त्री ‘प्रचण्ड’कै कारणले अझै शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन नसकेको आरोप लगाउँदै आएका छन्।

    नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसङ्घका महासचिव गुटेरेसले शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्ग्याउन दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए। मङ्गलवार संयुक्त सदनलाई सम्बोधन गर्दै पनि पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन उनले दलहरूलाई सुझाव दिएका थिए।

    शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयलाई राजनीतिक दलहरूले सत्ता स्वार्थको लागि आफूअनुकुल अडान राख्दै आएकाले अहिले समितिमा रोकिएको छ। कानून न्याय तथा मानव अधिकार समिति बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमा सहमति जुटाउन यसअघि नै असफल भइसकेको छ।

    कानून समितिले ११ सदस्यीय उपसमिति गठन गरेर यो विधेयकलाई निष्कर्षमा पुर्‍याउन भनेको थियो। तर, उपसमितिले अपूरो प्रतिवेदन समितिलाई बुझाएको छ। उपसमितिले पनि सहमति जुटाउन नसकेपछि अहिले सहमति खोज्नको लागि प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीसँग गृहकार्य गरिरहेका छन्।