यस वर्षको तिहारमा तिहारमा ४० लाख थान माला खपत हुने अनुमान, ८० प्रतिशत नेपालकै फूलले धान्ने - Chaitanya News
  • 2026-05-27
  • 01:01:22
  • मंगलबार,जेठ १२, २०८३
  • यस वर्षको तिहारमा तिहारमा ४० लाख थान माला खपत हुने अनुमान, ८० प्रतिशत नेपालकै फूलले धान्ने

    यस वर्षको तिहारमा तिहारमा ४० लाख थान माला खपत हुने अनुमान, ८० प्रतिशत नेपालकै फूलले धान्ने

    काठमाडौं– यस वर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने अनुमान गरिएको छ। पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका कारण मागको ८० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने देखिएको छ।

    तिहार सुरु हुन दुई साता मात्रै बाँकी रहँदा फूल टिप्न र माला बुन्नका लागि किसानहरुले तयारी थालिसकेको एसोसिएसनले जनाएको छ।

    एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्षको तिहारका लागि सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग नेपाल आत्मनिर्भर भएको बताए।

    उनकाअनुसार यस वर्ष नेपालमा ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ। त्यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाव लगायतका फूलहरु भने आयात गर्नुपर्ने देखिएको संघले जनाएको छ।

    सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने देखिएको व्यवसायीहरुको दाबी छ।

    यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ।

    यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ। मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन्।

    यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनले अनुमान छ।

    ‘किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरुको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो भएको छ,’ अध्यक्ष तामाङले भने।

    अहिले मूल्य अनुमान गरिएको माला एक मिटर आकारको भएको पनि एसोसिएसनले जनाएको छ। यद्यपि काँठ क्षेत्रका किसानले ३ देखि ४ मिटरसम्मको माला पनि बिक्री गर्ने भएकाले मालाको मूल्य थप महँगो हुन सक्ने देखिएको। मालाको गुणस्तर र छानोटमा भने उपभोक्ता स्वयम चनाखो हुनुपर्ने एसोसिएसनको भनाइ छ।

    एसोसिएसनका अनुसार नेपालमा हरेक वर्ष पुष्पखेती फैलिंदै गएको छ। खेती र उत्पादन बढेसँगै पुष्प कारोबार पनि वृद्धि भइरहेको छ।

    नेपालमा अहिले करिब ४४ हजार मानिसहरु पुष्प खेती र व्यवसायमा छन्। नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ भने यसमा ११ सय १६ जना पुष्प व्यवसायीहरु संलग्न छन्।

    आर्थिक वर्ष २०७८–७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार २ अर्ब ३० करोड पुगेको थियो।

    तर, आर्थिक वर्ष २०७९–८० मा कारोवारमा ३३।६ प्रतिशतले उछाल आएको एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन्।

    गत वर्ष नेपालमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको पुष्प व्यासायको कारोबार भएको उनको भनाइ छ। सो वर्ष नेपालले ६८ करोड १८ लाख रुपैयाँ बराबरको फूल निर्यात गरेको सरकारी तथ्यांक छ।

    यस्तै नेपालले ३३ करोडको फूल आयात गरेको भन्सार विभागले जनाएको छ।