काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरू ठगी गर्नेहरूलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।
विधायन व्यवस्थापन समितिको आइतबार भएको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरेका हुन्।
उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरू तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए।
मन्त्री रिजालले ठूलो कालोबजारी गर्नेहरूलाई कसुरको आधारमा दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने बताए।
‘५० हजारदेखि ३ लाखसम्मको जरिवाना छ। समातिएका ठूला कालोबजारीहरू ३ लाखै त हो भनेर फुत्किने गरेका छन्। त्यस कारण हामी सचेत हौँ। जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन। तर, ठूलो ठगीको लागि सजाय राखिएको हो’, उनले भने, ‘सानोलाई त ३ देखि ५ लाख जरिवाना राखिएको छ। यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ। कालोबजारीहरूलाई हामीले यसपालि केही गर्न सकेनौँ। गयो समात्यो, २० हजार फाइन गरेका थियौँ। ठूलालाई ३ लाख गर्ने हो। तर, उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन।