राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने - Chaitanya News
  • 2026-05-03
  • 05:45:39
  • आइतबार,बैशाख २०, २०८३
  • राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने

    राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने

    काठमाडौं– राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ।

    सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ।

    विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ। विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ।

    माध्यमिक तह द्धितीय श्रेणीका शिक्षकलाई २० औं स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औं स्थानमा राखिएको छ।

    विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औं स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औं स्थानमा राख्ने गरी विधेयक अघि बढेको छ।

    प्रस्तावित विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने विधायन व्यवस्थापन समितिको तयारी छ। विधायन व्यवस्थापन समितिबाट पारित विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ। प्रतिनिधि सभाले पनि स्वीकार गरी अगाडि बढाएको खण्डमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेत समेटिएर कानुन बन्नेछ।

    विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राई शिक्षकहरुको सम्मानका लागि मर्यादा निर्धारण गर्ने गरी कानुन बनाउने निर्णय हुनु ऐतिहासिक काम भएको बताउँछिन्।

    शिक्षकहरूले राज्यले मर्यादाक्रम कायम गरिदिनुपर्ने माग राख्दै आए पनि लागू हुन सकेको छैन। तर, यसअघि नै सरकारले शिक्षकहरुको मर्यादा निर्धारण गर्ने सहमति शिक्षकहरुसँग गरिसकेको छ।

    शिक्षा विधेयकलाई लिएर शिक्षकहरुले आन्दोलन गरेपछि सरकारले उनीहरुसँग सहमति गरेको थियो। सहमतिपत्रको पहिलो बुँदामै शिक्षकको मर्यादाक्रम कायम गर्ने उल्लेख थियो। सरकार र शिक्षकहरुबीच भएको सहमतिलाइ समेत ख्याल गर्दै विधायन समितिले राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी विधेयक पास गरेको हो।