काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लेनिनवादको महत्वबारे व्याख्या गरेका छन्।
आज (सोमबार) पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै महत्वबारे व्याख्या गरेका हुन्।
पार्टीको गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए।
पुरानै माओवादी कालीन शैलीमा प्रशिक्षणमूलक भाषण गरेका बादलले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए।
उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्यो। श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्यो। अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौँ। यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो। हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो।
बादलले एमालेको दशैं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पङ्क्ति अघि बढ्नुपर्ने बताए।
उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए।
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरेका छन्।
अर्को प्रसङ्गमा बादलले ‘प्रचण्ड’, माधव र वामदेवहरूमा राजनीतिक रूपमा दक्षिणपन्थी प्रवृत्ति र साङ्गठनिक रूपमा अराजकतावाद देखापरेपछि उनीहरूलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको जिकिर गरेका छन्।