नेपालको आयात बढ्दा निर्यात ऋणात्मक, व्यापार घाटामा २ प्रतिशतको वृद्धि - Chaitanya News
  • 2026-05-26
  • 23:45:13
  • मंगलबार,जेठ १२, २०८३
  • नेपालको आयात बढ्दा निर्यात ऋणात्मक, व्यापार घाटामा २ प्रतिशतको वृद्धि

    नेपालको आयात बढ्दा निर्यात ऋणात्मक, व्यापार घाटामा २ प्रतिशतको वृद्धि

    काठमाडौँ– चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा नेपालको आयात १.६९ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार २०८०–८१ को साउनदेखि असोज महिनासम्मको अवधिमा आयात १.६९ प्रतिशतले बढेको हो।

    आयातमा आएको सामान्य वृद्धिसँगै ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँको आयात भएको थियो।

    यस्तै, नेपालको निर्यात भने अझै ऋणात्मक स्थितिमा देखिएको छ। तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले खुम्चिएको छ। यस अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको निर्यात भएको छ। गत वर्षको तीन महिनाको अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको थियो।

    निर्यात खुम्चिए पनि आयात बढ्दा समग्र वैदेशिक व्यापारमा भने १.३१ प्रतिशतको वृद्धि आएको छ। यस अवधिमा नेपालको वैदेशिक व्यापार ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत वर्षको यही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो।

    साउनदेखि असोज महिनासम्मको अवधिमा व्यापार घाटा २.१५ प्रतिशतले बढेको छ। यस अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ छ। जुन, गत वर्षको सोही अवधिमा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो।