बढ्यो भारततर्फ बिजुली निर्यात, , तीन महिनामै साढे ९ अर्ब भन्दा धेरैको बिजुली निर्यात - Chaitanya News
  • 2026-05-26
  • 23:45:40
  • मंगलबार,जेठ १२, २०८३
  • बढ्यो भारततर्फ बिजुली निर्यात, , तीन महिनामै साढे ९ अर्ब भन्दा धेरैको बिजुली निर्यात

    बढ्यो भारततर्फ बिजुली निर्यात, , तीन महिनामै साढे ९ अर्ब भन्दा धेरैको बिजुली निर्यात

    काठमाडौँ– चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालबाट भारततर्फ उल्लेख्य रुपमा बिजुली निर्यात भएको छ। चालु वर्षको साउनदेखि असोज महिनासम्ममा नेपाल विद्युत प्राधिकरणले साढे ९ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली निर्यात गरेको हो।

    प्राधिकरणले गत आर्थिक वर्ष २०७९–०८० को तुलनामा उल्लेख्यरुपमा भारततर्फ बिजुली निर्यात गरेको छ। चालु वर्षको असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ।

    प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ। प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ।

    एनभीभीएनले उक्त विद्युत हरियाणा राज्यमा बिक्री गरिरहेको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत रियल टाइम मार्केटमा बिक्रीका लागि पनि अनुमति दिएको छ।

    नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

    प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।

    प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ।

    तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो।

    नेपालले आर्थिक वर्ष २०७६–७७ देखि दुई वटा आयोजनामार्फत उत्पादित ३९ मेगावाट बिजुली भारत बेच्न सुरु गरेको थियो। त्यसयता निरन्तरको प्राधिकरणको पहलपछि हाल ६३२ मेगावाट बिजुली बेचिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए।

    उक्त घोषणा नेपाल र भारतको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरिसकेको छ। दुवैतर्फका मन्त्रिपरिषद्ले गरेको घोषणासँगै काठमाडौंमा दुईपक्षीय सम्झौताको तयारी समेत भइरहेको छ।