स्वदेशमै फल्छन १६ थरी आलु, कुन क्षेत्रमा के जातको आलु रोप्ने? - Chaitanya News
  • 2026-05-26
  • 23:45:15
  • मंगलबार,जेठ १२, २०८३
  • स्वदेशमै फल्छन १६ थरी आलु, कुन क्षेत्रमा के जातको आलु रोप्ने?

    स्वदेशमै फल्छन १६ थरी आलु, कुन क्षेत्रमा के जातको आलु रोप्ने?

    काठमाडौँ– आलुको तरकारी मन नपराउने को पो नहोला र? सबैको भान्सामा आलुको विभिन्न ‘भेराइटी’ पाक्छ। ठाउँअनुसार बाह्रै महिना उत्पादन हुने १६ थरी आलुको बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेको छ। यी आलुको बीउ २०४९ सालदेखि २०७६ सालको बिचमा सिफारिस गरिएको हो।

    यी आलुले १० देखि ४० मेट्रिक टन प्रतिहेक्टर उत्पादन दिने नार्कले उल्लेख गरेको छ। यस आलेखमा नार्कले सिफारिस गरेको आलुले दिने उत्पादन, रोप्ने समय, क्षेत्रलगायत विषयको चर्चा गरिएको छ।

    कुफ्री ज्योति आलु पहाडमा वर्षे बालीका रूपमा माघ, फागुन र चैत्रमा रोप्न सकिन्छ। हिउँदका लागि असोज र कार्तिक महिनामा यो आलु रोप्न सकिने नार्कले जनाएको छ। त्यस्तै, असार र साउनमा पश्चिमका उच्च पहाडी क्षेत्रमा कुफ्री ज्योति आलु सिफारिस गरिएको छ।

    तराईमा हिउँदे बालीको रूपमा र तल्लो पहाडी भेगका लागि कुफ्री सिन्दुरी आलु सिफारिस गरिएको छ। यी दुवै जातको आलु नार्कले २०४९ सालमा सिफारिस गरेको हो। यी दुवै आलुको उत्पादन क्षमता प्रतिहेक्टर २३ मेट्रिक टन छ।

    डेजिरे

    तराईमा हिउँदे बालीको रूपमा असोज र कार्तिक महिनामा डेजिरे जातको आलु रोप्न सकिन्छ। मध्य पहाड र तल्लो पहाडमा भदौ र असोज महिनामा खेती गरिन्छ। यस्तै, मध्य पहाडदेखि उच्च पहाडमा यो आलुको खेती वर्षे बालीको रूपमा माघ र फागुनमा रोपिने नार्कले जनाएको छ।

    डेजिरे आलु रोपिएको ९० देखि एक सय २० दिनमा तयार हुन्छ। यो आलुको उत्पादन क्षमता प्रतिहेक्टर १८ मेट्रिक टन छ। यो आलुको बीउ २०४९ सालमा नार्कले सिफारिस गरेको हो।

    जनकदेव

    मध्य तथा उच्च पहाडी क्षेत्रमा गृष्म ऋतु, उपत्यका तथा तराई क्षेत्रमा शरद ऋतु र कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा वर्षा ऋतुमा जनकदेव आलु खेती गर्न सकिन्छ।

    यो आलु प्रतिहेक्टर ३९ दशमलव ४ मेट्रिक टन उत्पादन हुन्छ। रोपेको एक सय १० दिनमा यो आलु तयार हुन्छ । नार्कले जनकदेव आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो।

    खुमल सेतो १

    मध्य तथा उच्च पहाडी क्षेत्रमा गृष्म ऋतु, कम पानी पर्ने उच्च पहाडी क्षेत्रमा र मध्यपहाडी क्षेत्रमा शरद ऋतुमा खुमल सेतो १ आलु रोप्न सकिन्छ। यसको उत्पादन प्रतिहेक्टर ३८ मेट्रिक टन छ। यो आलु रोपेको एक सय १० दिनमा तयार हुन्छ । नार्कले खुमल सेतो १ आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो।

    खुमल रातो २

    तराई, भित्री मधेस तथा खोंचहरुमा शरद ऋतुमा खुमल रातो २ आलु खेती गर्न सकिन्छ। यसको उत्पादन प्रतिहेक्टर ३६ मेट्रिक टन छ। यो आलु रोपेको एक सय १० दिनमा तयार हुन्छ। नार्कले यो आलुको बीउ २०५६ सालमा सिफारिस गरेको हो।

    खुमल लक्ष्मी

    मध्य तथा उच्च पहाडी भेगमा वर्षे बालीको रूपमा, सुख्खा उच्च पहाडी भेगमा मनसुन बालीको रूपमा र तराई तथा भित्री मधेसमा शरद तथा हिउँदे बालीका रूपमा खुमल लक्ष्मी आलु लगाउन सकिन्छ।

    रोपेको एक सय २० देखि एक सय ४० दिनमा प्रतिहेक्टर २४ देखि २८ मेट्रिक टन यो आलु उत्पादन हुन्छ । खुमल लक्ष्मी आलुको बीउ २०६५ सालमा नार्कबाट सिफारिस भएको हो।

    आई पी वाई ८

    आई पी वाई ८ आलु तराई तथा भित्री मधेसका लागि सिफारिस गरिएको हो। यो आलु प्रतिहेक्टर २५ देखि २७ मेट्रिक टन उत्पादन हुन्छ।

    रोपिएको एक सय १० देखि एक सय २० दिनमा यो आलु तयार हुन्छ । २०६५ सालमा आई पी वाई ८ आलुको बीउ सिफारिस गरिएको हो।

    खुमल उज्ज्वल

    मध्य पहाडदेखि उच्च पहाडी क्षेत्रका लागि खुमल उज्ज्वल आलु सिफारिस गरिएको हो। यो आलु प्रतिहेक्टर २५ मेट्रिक टन उत्पादन हुन्छ।

    एक सय १० देखि एक सय २० दिनमा यो आलुको उत्पादन लिन सकिन्छ। यो आलुको बीउ २०७१ सालमा सिफारिस गरिएको हो।

    खुमल उपहार

    खुमल उपहार आलु तराई र मध्य पहाड (१२ सय मिटर उचाइ ) मा रोप्न सकिन्छ। यो आलु प्रतिहेक्टर २४ मेट्रिक टन उत्पादन दिन्छ।

    रोपेको एक सय १० देखि एक सय २० दिनमा तयार हुने खुमल उपहार आलुको बीउ २०७१ सालमा सिफारिस गरिएको हो।

    टिपिएस–१ र २

    टिपिएस–१ र २ आलु तराई र मध्य पहाडको सिञ्चित क्षेत्रका लागि सिफारिस गरिएको हो। यो आलुको उत्पादन क्षमता प्रतिहेक्टर ३० देखि ४० मेट्रिक टन छ।

    यो आलु रोपेको एक सय १० देखि एक सय २० दिनमा तयार हुन्छ । आलुको यी दुवै जातको बीउ २०७१ सालमा सिफारिस गरिएको हो।

    खुमल विकास

    मध्य पहाडदेखि उच्च पहाडी क्षेत्रको १२ सय मिटरदेखि तीन हजार मिटरसम्म खुमल विकास आलु खेती गर्न सकिन्छ। खुमल विकास आलु रोपेको एक सयदेखि एक सय १० दिनमा तयार हुन्छ।

    यो आलुको उत्पादन क्षमता २५ मेट्रिक टन छ। नार्कले २०७५ सालमा खुमल विकास आल आलुको बीउ सिफारिस गरिएको हो।

    कार्डिनल

    कार्डिनल आलु तराईदेखि करिब एक सय देखि ४ हजार मिटर उचाइसम्म खेती गर्न सकिन्छ। यो आलुले प्रतिहेक्टर १८ देखि ३० मेट्रिक टन उत्पादन दिन्छ।

    रोपेको ८० देखि एक सय १० दिनमा तयार हुने कार्डिनल आलुको बीउ २०७६ सालमा सिफारिस गरिएको हो।

    रोजिटा

    मध्य र पूर्व उच्च पहाडी क्षेत्रको करिब १६ सय देखि ३५ सय मिटर उचाइसम्म रोजिटा आलुको खेती गर्न सकिन्छ। यो आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्छ। रोपेको एक सय २० देखि एक सय ४० दिनमा तयार हुने यो आलुको बीउ २०७६ सालमा सिफारिस गरिएको हो।

    एमएस ४२.३

    तराईदेखि पहाडी उपत्यका तथा खोँचको करिब एक सय देखि १६ सय मिटर उचाइसम्म एमएस ४२।३ आलुको खेती गर्न सकिन्छ। यो आलु प्रतिहेक्टर १० देखि २४ मेट्रिक टन फल्छ। रोपेको एक सय देखि एक सय २० दिनमा तयार हुने यो आलुको बीउ २०७६ सालमा नार्कबाट सिफारिस गरिएको हो।