काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् युद्ध चर्किएको छ। ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत फर्काएको हो।
चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि जवाफमा रावलले पाँचवटा प्रश्न तेस्र्याएका छन। अछाम क्षेत्रनम्बर १ बाट पार्टी कमिटीले प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरी पठाए पनि केन्द्रमा आइपुगेपछि ओलीले रोक्नुभएको थियो। टिकट वितरणको जिम्मा केन्द्रीय समितिले पार्टी अध्यक्षलाई दिएको थियो। उनले रावलको नाम कटाएर केही समयअघि मात्रै माओवादीबाट प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिएका थिए।
पार्टी फुटको समयमा माधव नेपाल खेमामा रहनुभएका रावललाई ओलीले संगठको हितविपरीत काम गर्दै आएको भनेर आत्मालोचना गर्न निर्देशनसमेत दिएका थिए। उक्त निर्देशनलाई पालना नगरकै कारण टिकट पाउनबाट वञ्चित पार्टीका प्रभावशाली नेता रावललाई अध्यक्ष ओलीले चुनावी आमसभामा समेत गाली गर्न भ्याएपछि रावलको मन थप भक्कानिएको छ। शुक्रबाट कञ्चनपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘भीम रावलको तपाईंलाई किन चिन्ता भनेर स्थानीय कार्यकर्तालाई प्रश्न गरेका थिए।
उनले भनेका थिए– ‘४८ सालदेखि एकछिन मुख खाली छैन, बूढो भइसक्नुभयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनुपर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ। सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’ ओलीको यस्तो खस्रो भाषाप्रति स्थानीय नेताकार्यकर्ताको समेत मन कुँडिएको रावल पक्षका कार्यकर्ता बताउँछन्।
एमाले सुदूरपश्चिममा रावलको राम्रो प्रभाव छ। तर, ओलीको नजरमा केही समयदेखि खराब बन्दै गएका रावललाई पार्टीले जिम्मेवारीबाट बाहिर राख्न खोजेजस्तो देखिन्छ। पार्टी महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धी बनेपछि रावलप्रति ओलीको बोली अझै पेचिलो बन्दै गएको थियो। रावलले टिकट नपाएकै कारण उम्मेदवारी मनोनयनको दिन रावल पक्षका कार्यकर्ताले एमालेका उम्मेदवार र पार्टी अध्यक्ष ओलीविरुद्ध कालो झन्डासहित नाराबाजी नै गरेका थिए। त्यसपछि पनि काठमाडौंमा रावलले छुट्टै पत्रकार सम्मेलन गरेर पार्टी नछाड्ने तर एमालेले उठाएका सबै उम्मेदवारलाई जिताउन नसकिने अभिव्यक्ति दिएका थिए।
विस्तारै मत्थर हुँदै गएको रावलको अभिव्यक्ति ओलीको भाषणले पुनः बल्झाइदिएको छ। चुनावी आमसभालाई सम्बोधनका क्रममा ओलीले भीम रावलहरूले नै सधंै पदमा बसिरहनुपर्ने भन्ने प्रश्न गरेपछि दुई नेताबीचको सम्बन्ध अझै चिसिँदो छ। यसरी चिसिँदै गएको ओली र रावल सम्बन्धको प्रभाव चुनावी आमसभामासमेत देखिएको छ।
उनीहरूबीच आपसमा आरोपप्रत्यारोपले चुनावी परिणामलाई समेत असर गर्ने नेताहरूले बताएका छन्। चुनावको मुखमा पार्टीको नेतृत्व नै आफ्नै नेता कार्यकर्तामाथि यसरी खनिनु राम्रो नभएको एमाले अछामका नेता प्रकाश शाहले बताए। ओलीको अभिव्यक्तिप्रति रावलले सामाजिक सञ्जालमा आक्रोश पोख्दै ओलीको भाषणले उनीभित्र बलिरहेको क्रोध बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्ग भएको बताएका छन। नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष सामाजिक सञ्जालमार्फत विभिन्न पाँच प्रश्न सोधेका छन।
उनले ओलीलाई ०४८ सालदेखि राज्यका सबै तहमा ढलिमली गर्दै आएको छ र ७० वर्ष नाघिसक्दा पनि सत्ता र शक्तिकै लोलुपता देखाइरहेको आरोप लगाएका छन। रावलले भनेका छन– ‘ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि मुख किन बाउनुभएको। ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो?’ पार्टीका नेताहरूबीचको यस्तो सवालजवाफले आगामी निर्वाचन परिणामलाई निकै असर पर्ने एमाले नेता प्रकाश रावलले बताए।
रावलका पाँच प्रश्न
१. मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भए पनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ तर सांसद ५१ सालदेखि मात्र भएँ। ओलीजी ४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ र कहिल्यै ‘मुख खाली छैन’ र फेरि पनि ‘खान’ का लागि मुख किन बाउनुभएको त?
२. म ६७ वर्ष लागेकालाई ‘बूढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो र मभन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनुभयोरु
३. हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ। तर, अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौं पदमा रहेका र अनेकौंपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त?
४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तीनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुने गरी बोल्नुभएको रहेछ। स्मरण होस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राह्मण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नि नबनाउने त?
५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दै गर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ।