दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने स्वास्थ्यमन्त्री बस्नेत - Chaitanya News
  • 2026-11-16
  • 10:01:38
  • सोमबार,मंसिर ०१, २०८३
  • दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने स्वास्थ्यमन्त्री बस्नेत

    दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने स्वास्थ्यमन्त्री बस्नेत

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले दुई साताको अन्तरमा दुई अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउने भएका छन्।

    मन्त्री बस्नेत आगामी १३ देखि १६ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा हुने विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एशिया क्षेत्रको ७६ औँ सभामा भाग लिन जाने छन्।

    उक्त सभाले आगामी चार वर्षका लागि दक्षिण पूर्वी क्षेत्रको क्षेत्रीय निर्देशक समेत छनौट गर्नेछ। यसपटक क्षेत्रीय निर्देशक पदमा नेपालका डा. शम्भुप्रसाद आचार्य र बङ्गलादेशकी साइमा बाजेद उम्मेदवार छन्।

    सो कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा। विकास देवकोटालाई समेत सहभागी हुन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

    यस्तै भारतबाट फर्केपछि स्वास्थ्यमन्त्री बस्नेत आगामी २९ कात्तिकदेखि १ मंसिरसम्म थाइल्याण्डको बैंककमा हुने ‘सेभेन्थ एसियन एण्ड प्यासिफिक पपुलेसन कन्फ्रेन्स’मा सहभागी हुन जानेछन्।

    मन्त्रिपरिषद्ले सो कार्यक्रममा सहभागिताका लागि मन्त्री बस्नेतसँगै सचिव देवकुमारी गुरागाईलाई समेत सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।