काठमाडौं– माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन भएको उक्त आईपीओमा कुल ११ लाख ९० हजार २९६ आवेदकले आवेदन दिएका थिए। जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन स्वीकृत हुँदा ४ हजार ६५४ जनाको आवेदन रद्द भएको छ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदक परेकोले धितोपत्र निष्कासन बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मार्फत आईपीओ बाँडफाँट भएको छ। यसरी १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा १ लाख २८ हजार ४२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। अन्य आवेदकको भने हात खालि भएको छ।
कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ।
आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ छ। प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।