२ किलो चिनी किन्न साधुरामप्रसाद भट्टराई धादिङदेखि काठमाडौंमा - Chaitanya News
  • 2026-05-26
  • 23:45:19
  • मंगलबार,जेठ १२, २०८३
  • २ किलो चिनी किन्न साधुरामप्रसाद भट्टराई धादिङदेखि काठमाडौंमा

    २ किलो चिनी किन्न साधुरामप्रसाद भट्टराई धादिङदेखि काठमाडौंमा

    काठमाडौं– बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा चिनी किन्न धादिङदेखिका मानिस आएका छन्।

    नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन्।

    दशैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निर्वाह गर्न नसकेको भट्टराईले बताए। उनले मुख्य चाडपर्वको समयमा २ किलो चिनी खरिद गर्न धादिङदेखि काठमाडौं आउनुपर्ने बाध्यता सरकारको लापरवाहीकै कारण भएको भन्दै आक्रोश पोखे।

    भट्टराईले धादिङका खाद्यान्न पसलहरुमा चिनी नपाएको बताए । उनले जन्मेदेखि पहिलो पटक धादिङबाट २ किलो चिनी किन्न काठमाडौंमा आएको बताए।

    सहुलियत पसलमा चिनी किन्न लाइनमा बसेकी सावित्रा उप्रेतीले चिनी किन्न दुई घण्टा लाइन लाग्नुपरेको बताइन्। सहुलियत पसल भन्दा बाहिर चिनी नपाएकाले २ किलो चिनीका लागि लाइन लागेको उनको भनाइ छ।

    साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ किलोका दरले बिक्री गरेको बताए।

    सहुलियत पसलमा लाइनमा बसेका सबै उपभोक्ताले २ किलो चिनी अनिवार्य पाउने उनको भनाइ छ।