झलनाथ खनालले भने: बीआरआईमार्फत विश्वसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको छ - Chaitanya News
  • 2026-11-16
  • 10:21:10
  • सोमबार,मंसिर ०१, २०८३
  • झलनाथ खनालले भने: बीआरआईमार्फत विश्वसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको छ

    झलनाथ खनालले भने: बीआरआईमार्फत विश्वसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको छ

    काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस गरेको बताएका छन्। चीनले आयोजना गरेको बीआरएफ फोरममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले सो परियोजनामार्फत नेपाल र चीन सरकार बीचको औपचारिक सम्बन्धको परिचय दिएको समेत बताए। उनले भने, ‘यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ।’

    पूर्वप्रधानमन्त्री समेत रहेका खनालले समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको बताए।

    उनले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई कसैले पनि रोक्न नसक्ने बताए। खनालले भने, ‘केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन्। तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन।

    बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको खनालको भनाइ छ। सो सम्मेलनमा भाग लिन खनाल नेतृत्वको टिम केही दिनअघि चीन भ्रमणमा निस्केको थियो।

    चीनको औपचारिक भ्रमण सकेर खनाल अक्टोबर २२ अर्थात कात्तिक ५ मा नेपाल फर्कने छन्। नेता खनालसँगै रविलक्ष्मी चित्रकार र प्रा.डा. युवराज संग्रौला चीन भ्रमण टोलीमा छन्।

     सम्बोधनको पूर्णपाठ:

    महामहिम राष्ट्रपति सी जिनपिङ,
    विश्वभरबाट पाल्नुभएका अतिथिज्यूहरू,
    महिला तथा सज्जनवृन्द,

    नयाँ, समतामूलक, समृद्ध र प्रगतिशील विश्व व्यवस्थाको लागि एक महत्वपूर्ण परिघटनाको रूपमा रहेको यो ऐतिहासिक सम्मेलनलाई पूर्वप्रधानमन्त्रीको रूपमा तपाईंहरू सबैलाई नेपालको तर्फबाट अभिवादन गर्न पाउँदा निकै खुशी लागेको छ।

    यो नयाँ विश्व व्यवस्थाको यात्रा आजभन्दा ठिक १० वर्ष पहिले महामहिम राष्ट्रपति सी चिनपिङद्वारा घोषणा गरिएको बेल्ट एन्ड रोड इनिसिएटिभ पश्चात् सुरु भएको थियो। सो ऐतिहासिक पहलकदमीले विश्वमा रहेका विभिन्न देशहरू र जनता जनताबीचको आपसी सहयोग र सहकार्यको नयाँ अवधारणा सुरु गरेको थियो। साथै, सो पहलकदमीले प्राचीन सिल्क रोड र सामुद्रिक सिल्क रोडलाई पुनः आविष्कार पनि गरेको थियो, जसले हिजो इतिहासमा विश्वभर विकसित भएका विभिन्न सभ्यताहरूलाई एकआपसमा जोडेको थियो।

    यस पहलकदमीले विश्वभरका जनताहरुलाई एकआपसमा व्यापार गर्न, एकआपसका मूल्यमान्यताहरूबाट सिक्न र आपसी सम्बन्ध र सहयोगलाई प्रवर्द्धन गर्न अभुतपूर्व अवसर प्रदान गरेको छ।

    यो ऐतिहासिक पहलकदमीले नेपाल र चीन सरकार र दुई देशका जनताहरू बीचको औपचारिक सम्बन्धको परिचय दिएको छ। नेपाल र चीनको औपचारिक सम्बन्ध करिब १६०० वर्ष पुरानो रहेको पाइन्छ र यसलाई ऐतिहासिक कालखण्डमा सिल्क रोडको एउटा शाखा चामा गुडाओ (चिया हर्स रोड) द्वारा स्थापित सम्बन्धको रूपमा स्मरण गर्ने गरिएको छ।

    महामहिमहरु
    सिल्क रोड प्रणालीले हिजो स्थापित गरेको विश्व सम्बन्धको उचाइलाई पश्चिमा सांस्कृतिक अहंकारवाद, जातिवाद, उपनिवेशवाद र साम्राज्यवादले ध्वस्त पारेको थियो। आज चीनले अगाडि सारेको बीआरआईले विश्वभर रहेका मानिसहरुको मानवता र समावेशी आर्थिक सहयोगको साझा भविष्यको परिकल्पनालाई पुनः फिर्ता ल्याएको छ‌।

    समस्त दक्षिणको उदय र बीआरआईको विश्वव्यापि विस्तारले विभिन्न राष्ट्र, देश र जनताहरूबीचको नयाँ शान्तिपूर्ण सम्बन्ध, साथै विश्वमा रहेका विभिन्न सभ्यताहरूको सहअस्तित्व, सहकार्य र रूपान्तरणको सुरुवात समेत गरेको छ। सिल्क रोडको पुनस् आविष्कारको रूपमा आएको बीआरआईले विश्वमा रहेका विभिन्न सभ्यताहरू एकआपसमा सहकार्य गर्छन र सहअस्तित्वमा बाँच्छन्,‌ साथै एकअर्कालाई रूपान्तरण समेत गर्छन्, तर तिनीहरू बीच कुनै विरोधाभास हँदैन भन्ने सत्यलाई समेत स्थापित गरेको छ।

    केही पश्चिमा साम्राज्यवादी र आधिपत्यवादी शक्तिहरू आज पनि बीआरआईको विकास र विस्तारको विरोध गर्न चाहन्छन्। तर विश्वको कुनै पनि शक्तिले बीआरआईको निरन्तर विकास र विश्वव्यापी विस्तारलाई रोक्न सक्दैन। यो पहलकदमीले विश्वभरका जनताहरुमा आर्थिक समृद्धि र विभिन्न सभ्यताहरूको सहअस्तित्वको साझा भविष्यसहितको सुन्दर संसार स्थापनाको लगि नयाँ आशा जगाएको छ।

    हाम्रो मुलुक नेपाल पनि यस ऐतिहासिक पहलकदमिको एक हिस्सा भएको छ र बीआरआई मार्फत विश्वजगतसँग जोडिन पाएकोमा नेपालले गर्व महसुस समेत गरेको छ।

    अन्त्यमा हाम्रो प्यारो जीवित ग्रहमा एउटा नयाँ, समृद्ध र साझा मानव सभ्यताको विकास र स्थापना छिट्टै हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दै, मेरा विचारहरु धैर्यतापूर्वक सुन्नुभएकोमा तपाईंहरु सवैलाई धन्यवाद दिन चाहन्छु।