राष्ट्र बैंकको धनगढी कार्यालयबाट ४ दिनमा झिकियो सवा अर्ब - Chaitanya News
  • 2026-07-13
  • 12:04:56
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्र बैंकको धनगढी कार्यालयबाट ४ दिनमा झिकियो सवा अर्ब

    राष्ट्र बैंकको धनगढी कार्यालयबाट ४ दिनमा झिकियो सवा अर्ब

    धनगढी– दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ।

    नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो।

    राष्ट्र बैंकको धनगढी कार्यालयबाट २८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका कार्यालय प्रमुख विनोदप्रसाद लेखकले जानकारी दिए।

    उनका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन्।

    बैँकहरुले राष्ट्र बैँकमा जम्मा गरेको रकम ग्राहकहरुको मागअनुसार नै झिकेकाले दशैंमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ।

    राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरुको घुँइचो नै लागेको छ। असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दशैंका लागि नयाँ नोट साट्न आउनेहरुको घुँइचो लागेको छ। राष्ट्र बैँकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ।

    अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ। राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन्।