काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउद कात्तिक दोस्रो साताभित्र अमेरिका भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको आगामी १२ कात्तिकदेखि हुने नेपाल भ्रमणमा भेटघाट गरेर मन्त्री साउद अमेरिका जाने तयारी चलिरहेको छ।
हाल बेइजिङमा जारी बेल्ट एन्ड रोड फोरममा सहभागिता जनाइरहेको यूएन महासचिव गुटेरेस १२ कात्तिकमा नेपाल आउने कार्यतालिका छ। परराष्ट्रमन्त्री साउदको सचिवालयले गुटेरेस नेपाल आइपुगेपछि मात्रै उनको अमेरिका भ्रमण हुने जानकारी दिइएको छ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउनु हुँदैछ। यूएन महासचिव गुटरेससँग १२ कात्तिकमा भेट गरेपछि मात्रै परराष्ट्रमन्त्री अमेरिका जाने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ’, परराष्ट्रमन्त्रीको सचिवालयका एक सदस्यले भने।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस यसअघि २६ र २७ असोजमा नेपाल आउने कार्यक्रम थियो। तर इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि उक्त कार्यक्रम स्थगित भएको थियो।
परराष्ट्रमन्त्री साउदको सचिवालयका अनुसार अहिलेसम्म भ्रमणको कार्यतालिका र एजेन्डालाई अन्तिम रूप दिन बाँकी छ। ‘एजेन्डा र कार्यतालिका तय भएपछि मात्रै भ्रमणको कार्यतालिका दुवै मुलुकले एकैपटक सार्वजनिक गर्ने तयारी छ’, उनको सचिवालयले भनेको छ।
अमेरिकी सरकारको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री साउदले वासिङटन डीसीमा विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
परराष्ट्रमन्त्री साउदले अघिल्लो महिना मात्रै संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधि मण्डलसँगै न्यूयोर्क गएका थिए।