काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।
प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन, भदौ र असोज गरी तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको हो।
असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।
तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ। गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको थियो। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो।
साउनमा दुई अर्ब १४ करोड ३३ लाख, भदौमा तीन अर्ब ४७ करोड ८५ लाख र असोजमा चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको छ। तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् निर्यात भएको हो।
साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट क्रमश: आठ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ।
तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ। विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ।