विराटनगर– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन्।
आज (बुधबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी नेता आङ्बोले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताएका हुन्।
‘सहमतीय सरकारका लागि अधिकतम प्रयास हुन्छ, त्यसका लागि संवाद र सहकार्य हुन्छ’ उनले भने।
मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् भने अझै ६ जना मन्त्री चयन बाँकी छ। सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमालेबाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला कोशीका माओवादी नेताले एमालेसहितको सरकार बनाउने आशय व्यक्त गरेका हुन्।
उनले मुख्यमन्त्री कार्की सबै दलको साझा बन्ने प्रयास हुने बताए। उनले आपसी संवादपछि जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार हुने पनि बताए।