विराटनगर– नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको बताएका छन्।
प्रदेशमा कुनै पनि दललाई बहुमत नभएकाले आपसमा सहकार्य गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले कांग्रेस र माओवादीले सहकार्य गर्न नमानेपछि कांग्रेसको एक समूहसँग सहकार्य गरेको बताएका हुन्।
‘काँग्रेस संस्थापन पक्षले हामीसँग सहकार्य गर्न चाहेन। माओवादीले पनि हाम्रा कुरा सुनेन। त्यसैले काँग्रेसका विद्रोहीलाई साथ दिएका हौँ,’ उनले भने, ‘गठबन्धनले सङ्घीयतामाथि प्रहार गर्दै माथिबाट अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौँ। त्यसैले काँग्रेसका कार्कीलाई समर्थन गरिएको हो।’
काँग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए। ‘केही साथीहरूले यहाँ कुण्ठा पोख्नुभएको छ। यो जरुरी पनि छैन। यो परिस्थिति कसले बनायो रु,’ उनले प्रश्न गरे, ‘एमालेले गलत गरेको छैन।’
उनले आफूहरुले गल्ती नगरेको र संविधान अनुसार नै काम गरेको बताए। ने्ता कार्कीले गल्ती भएको भए सार्वजनिक ठाउँमा उभिएर माफी माग्न तयार भएको पनि बताए। आफूहरुको कदमले प्रदेशमा मध्यावधि निर्वाचन रोकिएको र प्रदेशमा अस्थिरता अन्त्य भएको दाबी गरे।
उनले कोशीमा विगत १० महिनादेखि सरकार बनाउने काम मात्रै भइरहेको बताए। ‘अब त्यस्तो स्थिति आउँदैन,’ उनले भने, ‘मध्यावधिमा जाने जनताको चाहना छैन। यो कुरा चुनावमा जान डराएर हामीले भनेको होइन,’ उनले भने।