काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि गम्भीर टिप्पणी गरेपछि नेता भीम रावलले पाँचवटा प्रश्न गरेका छन्। शुक्रबार सुदुरपश्चिमको दार्चुलामा आयोजित चुनावीसभामा रावलको बारेमा टिप्पणी गरेपछि रावलले पनि सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका छन।
रावलले ओलीको अभिव्यक्तिले बदला, निषेध र द्वेषपूर्ण भाव उदांगो भएको पनि टिप्पणी गरेका छन्।
१. मलाई ४८ सालमा तत्कालीन महासचिव मदन भण्डारी र नेता माधव नेपालले चुनाव नजितिने भएपनि हाम्रा मतहरू सुरक्षित गर्न अछाममा गएर लड्नुहोस् भन्दा म तयार भएँ। तर सांसद ०५१ सालदेखि मात्र भएँ। ओलीजी ०४८ सालदेखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएको छ। कहिल्यै मुख खाली छैन र फेरि पनि “खानूको लागि मुख किन बाउनुभएको त?
२. म ६७ वर्ष लागेकालाई “बुढोू भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? म भन्दा उमेर बढी भएका अरूलाई उमेदवारका लागि किन सहमति दिनुभयो?
३. हो, अरूलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ। तर अरूलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरूलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त?
४. ओलीजीले थर विशेषलाई पनि उल्लेख गरी सुदूरपश्चिममा थुप्रै रावल भएका र तिनलाई अगाडि बढाउने भन्दै व्यक्तिगत रूपमा अपमान हुनेगरी बोल्नुभएको रहेछ। स्मरण होस् अछाम जिल्लालगायत देशका विभिन्न भागमा ब्राह्यमण र क्षेत्री गरी थुप्रै ओलीहरू पनि छन्, तिनलाई एमालेमा तत्काल पार्टी अध्यक्ष र प्रधानमन्त्री नबनाउने त?
५. पार्टी अध्यक्ष र प्रधानमन्त्री भइसकेको व्यक्तिबाट मञ्चमा भाषण गर्दैगर्दा प्रदर्शन गरिएको उत्तेजनाले अछामी जनताको तर्फबाट भएको निर्णय उल्ट्याउनुको रहस्यको एउटा पर्दा उघ्रेको छ।