पार्टी बनाएर चुनावमा लड्न आउन पूर्वराजा शाहलाई माधव नेपालको चुनौती - Chaitanya News
  • 2026-11-16
  • 10:49:00
  • सोमबार,मंसिर ०१, २०८३
  • पार्टी बनाएर चुनावमा लड्न आउन पूर्वराजा शाहलाई माधव नेपालको चुनौती

    पार्टी बनाएर चुनावमा लड्न आउन पूर्वराजा शाहलाई माधव नेपालको चुनौती

    काठमाडौँ– नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्।

    आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो चुनौति दिएका हुन् । यस्तै उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए। उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए। कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए।

    नेपालले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एक(एक कुराहरू सबै थाहा छ। त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्त्वप्रति सबै होसियार हुनुपर्छ। कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन। भक्तपुरमा यो आवाज अझै गुन्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो। झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो। अस्ति भएको निर्वाचन आफैँमा जनमत सङ्ग्रह हो। जनताले सीधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाए। अरूलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन्। असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ। दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन। हामी अहिले देशका समस्या पहिचान गर्ने कुरामा अघि बढेका छौँ। यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोसिस भइरहेका छन्। ती कुनै कोसिस सफल हुनेवाला छैनन्। यो गठबन्धनको सरकार एकताबद्ध भएर नै अघि बढ्नेछ।

    नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए।