सभापति देउवालाई गगन र विश्वले भने: प्रदेश सरकार गठन घटनाको जिम्मेवारी तपाईंले लिनुपर्छ - Chaitanya News
  • 2026-11-16
  • 10:47:30
  • सोमबार,मंसिर ०१, २०८३
  • सभापति देउवालाई गगन र विश्वले भने: प्रदेश सरकार गठन घटनाको जिम्मेवारी तपाईंले लिनुपर्छ

    सभापति देउवालाई गगन र विश्वले भने: प्रदेश सरकार गठन घटनाको जिम्मेवारी तपाईंले लिनुपर्छ

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनको घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन्।

    आज (आइतबार) सभापति देउवाले कोशी घटनाको विषयमा छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए। सो भेटमा आफूहरुले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताएको महामन्त्री शर्माले पत्रकारहरुलाई बताए।

    कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरे र हाल मुख्यमन्त्री नियुक्त भएका छन्।

    कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

    ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। किन यो प्रकारको दुर्घटना भयो, ‘।यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ’, बैठकमा आफूहरुले राखेको धारणाबारे शर्माले भने।

    कोशीमा सरकार गठनको विषयमा सभापति देउवाले कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा। नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री शर्माले बताए ।

    महामन्त्री शर्माले डा। शेखर कोइरालाले पनि कोशी घटनाको विषयमा जवाफ दिनुपर्ने बताए । ‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ शर्माले भने, ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूह भित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’