विष्णुप्रसाद पौडेलले भने: कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आयो - Chaitanya News
  • 2026-05-26
  • 22:43:37
  • मंगलबार,जेठ १२, २०८३
  • विष्णुप्रसाद पौडेलले भने: कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आयो

    विष्णुप्रसाद पौडेलले भने: कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आयो

    काठमाडौँ– ​नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुगेको बताएका छन्। आज (आइतबार) प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    यस्तै उनले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन सरकारले कुनै ठोस कदम ल्याउन नसकेको टिप्पणीसमेत गरेका छन्।

    उनले मुलुकमा सङ्कटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको आरोप लगाए।

    ‘मुलुकको अर्थतन्त्रको अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेसन गर्नपर्नेछ, सिटामोल छैन, अनि चल्छ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, नेपाल कालोधनको केन्द्र बन्दैछ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन। आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ पौडेलले भने।

    प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदैछ भनेर गलत बोलिरहेको उनको दाबी छ।

    ‘अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ। पूँजी पलायन भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सृजना हुँदा पनि सरकार मूकदर्शक बनेको छ’, पौडेलले थपे।

    नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको भन्दै उनले क्विन्टल सुन प्रकरणमा सरकारले उच्चस्तरीय संसदीय समिति बनाउन आनाकानी गरेपनि एमालेको निरन्तर दबाबले गठन भएको बताए।

    नेता पौडेलले कोशीमा पटक(पटक गठबन्धन दलबाट कीर्ते भएको सबै प्रमाणले प्रष्ट पारेको बताए।