चैतन्य पाठशालाद्वारा दसैं विशेष कला, साहित्य उत्सव आयोजना - Chaitanya News
  • 2026-05-03
  • 05:44:16
  • शनिबार,बैशाख १९, २०८३
  • चैतन्य पाठशालाद्वारा दसैं विशेष कला, साहित्य उत्सव आयोजना

    चैतन्य पाठशालाद्वारा दसैं विशेष कला, साहित्य उत्सव आयोजना

    धनगढी- चैतन्य पाठशाला धनगढीले दसैं विशेष कला, साहित्य उत्सवको आयोजना गरेको छ। आज एक समारोहबीच विद्यालयले कला, साहित्य उत्सवको आयोजना गरेको हो।

    सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भीमबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देउडा गायक भुवन दाहाल र गायिका डिक्रादेवी गाइनेले सांगितिक प्रस्तुति राखेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि सभामुख भण्डारीले विद्यार्थीहरूमा कला, साहित्यप्रतिको मोह जागृत गर्न विद्यालयले आयोजना गरेको यो कार्यक्रम निकै फरक भएको बताए। ‘विद्यार्थीहरूलाई कितावी ज्ञानमात्र होइन, अतिरिक्त ज्ञानको पनि आवश्यकता पर्छ। चैतन्यले त झनै संस्कारसहितको शिक्षा प्रदान गर्ने लक्ष्य नै लिएको छ। यो निकै तारिफयोग्य कुरा हो,’ उनले भने।

    सभामुख भण्डारीले विद्यालय संस्कार सिकाउने थलो पनि भएको बताए। सानैबाट हामीले संस्कारयुक्त जनशक्ति निर्माण गर्न सके मुलुकका लागि त्यो दीर्घकालिन लाभदायक हुने बताए। भण्डारीले गायक दाहाल र गायिका गाइनेलाई सम्मानपत्र पनि अर्पण गरेका थिए।

    यस्तै विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य, कला संस्कृति र सभ्यताको ज्ञान प्रदान गर्न यस्ता कार्यक्रमको आयोजना गर्दै आएको बताए। विगतका वर्षहरूमा पनि आफूहरूले दसैंका अवसरमा यस्ताखाले कार्यक्रम गरेको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए।

    कार्यक्रमका विशिष्ट अतिथि एवम् पाठशालाका प्रमुख सल्लाहकार प्रा. डा. हेमराज पन्त, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, विद्यालयका प्रअ अशोक राज खातीलगायतले पनि आफ्नो धारणा राखेका थिए।

    कार्यक्रममा बालबालिकाहरूले पनि आफ्ना संस्कृति प्रस्तुति पस्केका थिए।