विदेशबाट फर्किदा अरूको मोबाइल, टिभी, घडी, सुनजस्ता सामान नबोक्न भन्सार कार्यालयको अनुरोध - Chaitanya News
  • 2026-05-26
  • 22:42:45
  • मंगलबार,जेठ १२, २०८३
  • विदेशबाट फर्किदा अरूको मोबाइल, टिभी, घडी, सुनजस्ता सामान नबोक्न भन्सार कार्यालयको अनुरोध

    विदेशबाट फर्किदा अरूको मोबाइल, टिभी, घडी, सुनजस्ता सामान नबोक्न भन्सार कार्यालयको अनुरोध

    काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने नेपालीहरूलाई मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको बोकेर नआउन अनुरोध गरेको छ।

    स्वदेश फर्कन लागेका नेपालीहरूलाई विमानस्थलमा अपरिचित व्यक्तिहरूले विभिन्न प्रलोभनमा पारी नेपालको विमानस्थलसम्म पुर्‍याइदिन भन्दै मोबाइल, टिभी, घडी र सुन लगायत अन्य इलेकट्रोनिक सामान पठाउने क्रम बढेको भन्दै कार्यालयले यस्तो सामान साथमा नल्याउन अनुरोध गरेको हो।

    पछिल्लो समय विदेशबाट नेपाल फर्कनेहरूले साथमा ल्याउन पाउने गरी कानुनले तोकेभन्दा बढी सामानहरू ल्याउने क्रम बढेको छ।

    कानुनले तोकेभन्दा बढी सामान ल्याउनेहरूलाई सोधपुछ गर्दा नचिनेको र कतिपयले भने साथीभाइको सामान समेत बोकेर आउँदा भन्सार कार्यालयमा झमेला हुने गरेको छ। कतिपय व्यक्तिहरूले टिभी, घडीजस्ता चिजमा सुन लुकाएर पठाउने गर्दा विदेशमा काम गरेर फर्किएकाहरू कानुनी झमेलामा समेत परेका छन्।

    त्यसैले विमानस्थल भन्सार कार्यालयले कानुनले तोकेभन्दा बढी समान नल्याउन आग्रह गरिरहेको छ। केही दिनअघि मात्र टिभी भित्र लुकाई सुन ल्याएका एक जना विमानस्थलमा सुरक्षा जाँचको क्रममा पक्राउ परेका छन्।