लोकसेवाका ६ परीक्षा दिँदा कहिले असफल भइनँ, सफलताका लागि मिहनेत नै ठूलो कुरा हो - Chaitanya News
  • 2026-09-17
  • 13:17:46
  • बिहिबार,आश्विन ०१, २०८३
  • लोकसेवाका ६ परीक्षा दिँदा कहिले असफल भइनँ, सफलताका लागि मिहनेत नै ठूलो कुरा हो

    लोकसेवाका ६ परीक्षा दिँदा कहिले असफल भइनँ, सफलताका लागि मिहनेत नै ठूलो कुरा हो

    नौबहिनी गाउँपालिका वडा नम्बर ६ प्युठानका अनिल रिजालले २०७४ सालमा खरिदारबाट सेवा प्रारम्भ गरेका हुन्। भर्खरै शाखा अधिकृतमा नियुक्ति पाएका रिजालसँग लोकसेवाको विषयमा केन्द्रीत रहेर चैतन्य खबरका लागि निर्मला कडायतले अन्तर्वार्ता तयार पारेको छ। प्रस्तुत छ उनै रिजालसँग गरिएको कुराकानीको सम्पादित अंश :

    लोकसेवा तयारी कसरी गर्नुभयो?

    मैले लोकसेवा पढन् प्लसटूपछि सुरु गरेको थिएँ। जसमा म दैनिक जसो पढ्ने गर्दथेँ। पढेको कुरालाई आफ्नो जीवनसँग आन्तरीकिकरण गर्ने गर्दथेँ। मैले लोकसेवा तयारी गरिरहँदा म कलेजको पढाइलाई पनि निरन्तर रुपमा दिएको थिएँ। जसको कारण आज सफल हुन सकेको हुँ।

    तपाईँले कतिऔँ पटकमा शाखा अधिकृतको सफलता प्राप्त गर्नुभयो?

    मैले आजसम्म कुनै पनि परीक्षा दोश्रो पटक फेस गर्न परेको छैन। मैले २०७४ सालमा खरिदार, २०७४ सालमा नै नेपाली सेनाको अधिकृत क्याडेट (नियुक्ति नलिएको), २०७५ सालमा नेपाल विद्युत प्राधिकरणको चौथो र पाँचौ तह (नियुक्ति नलिएको), २०७५ सालमा नायब सुब्बा र हाल आएर २०८० सालमा शाखा अधिकृतको परीक्षा पहिलो पटकमा नै उत्तीर्ण गरेको हुँ।

    सफलता प्राप्त गर्नको लागि समय कसरी व्यवस्थापन गर्नुपर्छ?

    सफलता प्राप्तिको अचुक विधि नै समय व्यवस्थापन र निरन्तरता हो। मैले जागिर गर्दै पढेको हो। मैले बिहान उठि इन्स्टिच्युटमा पढाउन जिके र आइक्यु जान्थेँ, दिनभर कार्यालय समयमा कार्यालयको काम नै हुन्थ्यो। साँझ ५ः३० मा कोठामा पुगेपछि केही समय आफू फ्रेश भएर राति १२÷१ बजेसम्म निरन्तर पढ्ँदथेँ। परीक्षा भन्दा १ हप्ता अगाडि पढाउन छाडी, कार्यालयमा पनि बिदा लिएर कोठामा नै बसेर दिनमा १४–१५ घण्टा पढेको जस्तो लाग्छ।

    लोकसेवा अध्ययन गर्दा तपाईँले नोट कसरी बनाउनु हुन्थ्यो ? नोटको ढाँचा कसरी बनाउनु हुन्थ्यो?

    मलाई लोकसेवाको तयारीमा मेरो कमजोर पक्ष भनेको यही हो जस्तो लाग्छ। मैले कहिले नोट बनाएर पढिनँ। नोट बनाउनतर्फ मेरो ध्यान जान्थेन। मसँग पहिलो पत्रको लागि आफैँले पढाउने गरेको हुँदा सामाग्री प्रशस्त थियो। लिखित परीक्षाको लागि मैले धेरै लेख्ने अनि रफ गर्ने गर्दथेँ। तर नोट नै भनेर मैले बनाइनँ। सायद मेरो विचारमा नोट अनिवार्य जस्तो त होइन। तथापि पहिलो पटकमा सफल हुन सकिएन भने दोश्रो पटक तयारी गर्दा केही सहज होस् भन्नका लागि नोट बनाउँदा राम्रो अवश्य हुन्छ। नोटको उपलब्धताले पढाइमा सधै सहजता नै ल्याउँछ। तर नोट अरुको पढ्ने बानी राम्रो भने होइन जस्तो लाग्छ।

    पटक पटक लोकसेवामा असफल भइरहेकाहरूलाई तपाईँको सुझाव के छ?

    पटक पटक लोकसेवामा असफल हुनुभएका साथीहरुलाई मेरो सुझाव भनेको सबैभन्दा आफ्नो स्ट्रोङ पोइन्ट र विकनेस पत्ता लगाउनुपर्दछ। जस्तै म पहिलो पत्र औसत विद्यार्थीभन्दा माथि छु जस्तो लाग्छ जसबाट मैले नाम निकाल्नको लागि अलि धेरै नम्बर लिएँ। लिखित मेरो कमजोरी जस्तो फिल गर्छु जसलाई मैले औधी मिहेनत गरेर पास हुने तवरले पढेँ। यसरी हेर्दा आफ्नो बेस्ट विषयलाई अब्बल बनाउनुहोस्। कमजोरीलाई कम्तीमा औसतमा आउने गराउनुभयो भने तपाईँ सफल हुनुहुन्छ। अझै भनौँ भने आफू के कारणले असफल भएँ र मैले यसलाई कसरी सुधार गर्न सकिन्छ भनेर हामीले आत्मसमिक्षा गर्यौँ भने तपार्इँ पक्कै सफल हुनुहुन्छ। तपाईँलाई सफलताले कुरेको छ तपार्इँ सही समयमा अवश्य पुग्नुहुनेछ।

    लोकसेवा तयारी गरिरहेका मानिसहरूलाई तपाईँको सल्लाह सुझाव के छ?

    लोकसेवा तयारी गर्नुभएका सम्पूर्ण साथीहरूलाई मेरो सल्लाह सुझाव के छ त भन्दा तपार्इँ धेरै पैसा कमाउने मनसाय बोकेर यसतर्फ लाग्दै हुनुहुन्छ भने त्यो आजै बिर्सिदिनुस वा लोकसेवा पढ्न नै छाडिदिनुहोस्। तथापि तपाईँ विशुद्ध सेवाभावका साथमा सेवा प्रवेश गर्न चाहानुहुन्छ जसबाट आफ्नो व्यक्तिगत वृति पनि होस भन्ने चाहानुहुन्छ भने तपाईँ लोकसेवा पढ्नको लागि आफूलाई तिखार्नुहोस्, बरु कम समय दिनुहोस् तर निरन्तर दिनुहोस्, अरुसँग आफूलाई तुलना नगर्नुहोस् आफैसँग आफैलाई दाँज्नुहोस्। आफ्नो कमजोरी र आफ्नो स्ट्रोङ पोइन्ट पत्ता लगाई सोही अनुसार तयारीमा होमिनुहोस्। तपाई अवश्य सफल हुनुहुन्छ।