आयो आयो भन्दाभन्दै नेपालीहरूको महान चाड दसैं पनि आँगनमै आइपुग्यो। दसैं आयो कि घरको याद आउँछ। घरका परिवार, गाउँको र त्यो बालापनको याद आउँछ। यो पर्वहरू आउने–जाने प्रकिया नै हो। हामीले मान्दै आएको हिन्दुहरूको विशेष पर्व पनि हो। लाग्दो हो घरमा बस्नेहरूलाई घर बाहिर बस्नेहरू खुसीले भरिएका हुन्छन्, तर हामीहरू भने मनमा ढुङ्गा राखेर दसैं, घरपरिवार अनि त्यो प्यारो जन्मभूमिको सम्झनामा बसेका हुन्छौँ। मखमली, सयपत्री फूलहरू फुलिरहेका छन्। गर्मी अनि जाडो मौसमको समीश्रण अहिलेको मौसम नै रमाइलो लाग्ने गर्दछ।
घरदेखि टाढा रहेका स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइहरू घर फर्किरहेका छन्। चाडपर्व आउँदा सबैको मनमा खुसीयाली छाउने गर्दछ। मलाई त झन दसैं र तिहार एकदमै मनपर्ने चाडपर्वहरू हुन्।
बालापनमा दसैंमा नयाँ लुगा लगाएर टीका थाप्दै मान्यजनहरूबाट आर्शीवाद लिनुका साथै नयाँ नोटका दक्षिण पाइने कुराले मन साह्रै हर्षित हुने गर्दथ्यो। घरमा आमा–बुवाको हातबाट टीका थाप्नासाथ दक्षिणा पाइने आशामा गाउँभरिका सबै आफन्तकहाँ टीका थाप्न गएको अनि दक्षिणा गन्दै बाटोमा हिँडेका ती दिनहरू सम्झँदा मन भक्कानिएर आउँछ।
अनि दिदी, बहिनीहरू र साथीहरूसँग ‘तँलाई त नयाँ नोट मलाई त यस्तो पो, मेरो पैसा यति भयो’ भन्दै हिँडेका ती दिनहरू सम्झँदा मनै आनन्दित भएर आउँछ, कहाँ आउँछ र फेरि घुमेर त्यो बालापन। साच्चै कति सुन्दर हुन्छन है ती बालापनका यादहरू।
मलाईं अझै याद छ, सानोमा घण्टौं लगाएर हिँड्दै मामा घर टीका थाप्न गएको। मलाई त्यो पनि सम्झना छ, बुवा–आमाले दसैंमा लुगा भोलि किनिदिन्छौं भन्दा म रोएर धुलोमा पल्टिएको। नयाँ लुगा लगाउन भुतुक्कै पर्ने स्वभावकी थिएँ म। जहिले पनि दसैंमा टीका लगाउँदा सानोको पालो अन्तिममा आउँछ। हजुर बा हजुर आमा, अनि बुवा–आमाले दिदी, दाइ अनि अरु मभन्दा ठूलो मान्छेलाई टीका लगाउँदा क–कसलाई कति दक्षिणा दिनुहुन्छ भनि आँखा ठूलो बनाई हेरेको सम्झनाले अहिले पनि मन रमाउँछ।
समय फेयिो। उमेर बढ्दै गयो। सोच र मानसिकता पनि विकसित हुँदै गए। दसैं उही हो। उसैगरी आउँछ हरेक वर्ष। तर त्यसको रङ फेरियो। मेरा अनुभूति बदलिए। उसो त भन्ने हो भने दसैंको विम्ब नै बदलिँदै गएको छ। दसैं आउँदा साथीहरूले लुगा किन्न जाम भन्छन्। म झसङ्ग हुन्छु। त्यो जन्म घर, ती मेरा मुटुका टुक्रा बुवा–आमा, दिदी–बहिनी,दाइभाइ ती साथी अनि त्यो प्यारो गाउँ, र बाल्यकालकै दशैँको सम्झना आउँछ। म सोचमग्न हुन्छु। सोच्छु के म पहिलेको जस्तै गरी अहिले धुलोमा लडिबुडी गरेको रोएको सुहाउला ?
समय एकै नासको रहँदैन। परिस्थिति पनि बदलिरहन्छन्। बालापन सधैँ रहँदैन। त्यो एक समय थियो जुन एकदमै रमाइलो थियो। जसै समय बित्दै गयो सधैँजस्तो दशैँ मनाउन पाइएन। परिवारमा दुःख पर्दा चाडपर्व मनाइदैन।
बालापनमा दसैं आयो भन्न बित्तिकै मनभरी कस्तो उत्सुकता बढेर आउँथ्यो। तर अहिले बिडम्बना म मेरो त्यो प्यारो जन्म घर अनि त्यो मेरो गाउँबाट टाढा छु। दसैं आइरहेको छ, मनमा कता कता अलिकति खुसी र अलिकति दुःखी भएको महसुस भइरहेको छ।
कारण मैले मेरो परिवारसँग बसेर दसैं मनाउन नपाएको ५ वर्ष बितिसकेको छ। म आज मेरो परिवार बाट धेरै टाढा छु। हुन त अहिले सामाजिक सञ्जालको कारणले गर्दा फोनबाट भिडियो कलमा एकअर्काको मुख हेरेर कुरा भइरहेको हुन्छ,। तर पनि परिवासँगै भएजस्तो कहाँ हुने रहेछ र। यिनै कुराहरू सोच्दासोच्दै मेरो आँखाबाट आँसुको थोपा चुहिएको पत्तै भएन। यही समयमा मैले कति विदेशिएका दाजुभाइ दिदीबहिनीहरुलाई सम्झिएँ। सोचेँ उनीहरूको पनि त महान पर्व हो तर किन उहाँहरुले आफ्नै देशमा र परिवारको साथमा दसैं मनाउन पाउनु भएको छैन।
फेरि यता जातीय विभेद परेका मेरा प्यारा दिदी, दाइ पनि बिहे गरेपछि आफ्नो जन्म घरमा टीका लगाउन जान पाउनु भएको छैन। के भगवान्ले छुवाछुत हुन्छ भन्नु भएको छ र ? वास्तवमा भन्ने हो भने त्यहाँ पनि धेरै नै पिडा भइरहेको छ। आफ्नो जन्म घरमा टीका लगाउन जान नपाउँदा ती दिदी–बहिनीहरूको मन कति रोएको छ होला ? कोही आमाका छोराछोरीहरूलाई परिवारले अस्वीकार गर्दा ती वृद्ध बुवा–आमाको हातबाट टीका लगाउन र उहाँहरूको मुखबाट आशीर्वाद नपाउँदा ती छोराछोरीको मन कति रोएको होला ? कोही कोही छोरारूरु दसैंमा खाडीको मुलुकबाट घरको टिका सम्झिदै बसेका छन। यही कुराहरुलाई सम्झेर मैले आफूले आफैँलाई सम्हालेँ।
यस वर्ष पनि दसैं आँगनमै आइपुगेको छ। तर मेरो मनमा भने बालापनको जस्तो हर्ष छाएको छैन। उत्सुकता बढेको छैन। म घर परिवारबाट टाढा छु। परिवारको जिम्मेवारी ममाथि भएर होला, मलाई अहिले मेरो खुसीभन्दा पनि मेरो परिवारको ओठमा मुस्कान कसरी ल्याउने भन्ने कुरा धेरै महत्व राख्छ। त्यसैले म जागिरको शिलशिलमा घरबाट धेरै टाढा छु।
तर म जे भए नि जस्तो अवस्थामा भए नि, आशा छ मेरा प्यारा बावा–आमा, दिदी–बहिनी, दाजु–भाइ र साथीसँगीले यो दशैँमा भेट गरेर रमाइलोसँग टीका लगाउनु हुनेछ।
अन्तिममा आउँदै गरेको दशै तथा शुभ दीपावलीको सम्पूण नेपाली बुवा–आमा, दिदी–बहिनी, तथा दाजु–भाइलाई हार्दीक मंगलमय शुभकामना छ।