“ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम्,
द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम्।
एकं नित्यं विमलमचलं सर्वधीसाक्षिभूतम्,
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि।।”
अर्थात्- जो ब्रह्मानन्द स्वरूप छ, परम सुख दिनेवाला छ, जो केवल ज्ञानस्वरूप छ, (सुख, दुःख, शीत- उष्ण आदि) द्वन्द्वरहित छ, आकाश समान सूक्ष्म र सर्वव्यापक छ, तत्त्ववमसि आदि महावाक्य जसको लक्ष्य छ; जो एक छ, नित्य छ, मलरहित छ, अचल छ, सर्वबुद्धिको साक्षी छ, भावनाभन्दा पर छ, सत्व, रज र तम तीन गुणरहित छ, यस्तो श्रीसद्गुरुदेवलाई म नमस्कार गर्दछु।
भनिन्छ, यो युग हाम्रो हो, अघि बढौँ। अर्थात् आजको समय महत्त्वपूर्ण छ। भूतकालबाट सिक्ने, वर्तमान अनुसार चल्ने र भविष्यको यात्रा निर्धारण गर्ने हो। भूत र भविष्यलाई भन्दा आजको समय केवल हाम्रो लागि हो, यसलाई बुझनु जरुरी छ। मरेपछि स्वर्ग होइन, यही जीवनलाई आजै स्वर्गमय बनाउन सिक्नुपर्छ।
गुरु गोरखनाथ भन्नुहुन्छः
“रस रसाइंन गोटिका निवारि, रिधि परीहरौ, सिधि लेहु विचारि।
परहरौ सुरापान अरू भंग, तातै उपजै नाना रंग।।”
अर्थात्- रस, रसायन, मन्त्रतन्त्रको औषधि, बुटी आदिबाट पर बसौं। धनको, समृद्धिको कामना त्यागेर ज्ञानको सिद्धि विचार गरेर लिऔं। मद्यपान आदि कुलत छोडौँ। त्यसबाट विभिन्न प्रकारका रिसराग उत्पन्न हुन्छन्।
रस, रसायन, तन्त्रमन्त्रबाट पर बसौं। स्वास्थ्य विज्ञानको हिसाबले, आयुर्वेद आदिका दृष्टिले रस, रसायन प्रयोग गर्नु राम्रो नै हो। तर रस, रसायन, तन्त्रमन्त्र प्रयोग गरेर अध्यात्मको यात्रा तय हुँदैन। ऋद्धिको पछि लाग्नु हुँदैन। सिद्धि पनि अध्यात्मको यात्रामा कहिलेकाहीं बाधा बन्न सक्छ। हामी ऋद्धिसिद्धिका देवता भगवान् श्रीगणेशको पूजा गर्छौं तथापि पूजाको अन्तिम उद्देश्य केवल ऋद्धिसिद्धिको प्राप्ति होइन, मुक्तिको प्राप्ति हो। ऋद्धिसिद्धि साधनाको प्रथम चरणमा साधक हुन् भने अन्तिम चरणमा बाधक पनि हुन सक्छन्। साधना गर्दै जाँदा जुन ऋद्धि अर्थात् अतिन्द्रिय शक्ति साधकले पाउँछ त्यो नै क्रमशः सिद्धिका लागि र अन्ततः मुक्तिका लागि बाधक बन्न जान्छ। कैयौं साधकहरू साधनाको क्रममा ऋद्धिको अवस्थामा पुग्दा हराएका छन् साथै सिद्धि र मुक्ति तर्फको उनीहरूको यात्रा अवरुद्ध हुँदा समाजलाई मार्गदर्शन गर्नुको साटो उल्टै दुःख पनि दिएका छन्। पौराणिक वर्णनमा भेटिने राक्षसहरूलाई पनि यस्तै कोटीमा राख्न सकिन्छ। तिनीहरूले ऋद्धि त कमाए अर्थात् अतीन्द्रिय शक्ति कमाए, रहस्यमय बल कमाए, भौतिक सामार्थ्य र शक्ति पनि कमाए। तर सिद्धितर्फको एवं मुक्तितर्फको यात्रामा अघि बढ्न नसक्दा ऋद्धिको दुरूपयोग गर्ने भए। यही कुरालाई “योगबीजम्” मा पनि स्पष्टतः भनिएको छ। सिद्धिको मार्गमा अनेकौं तीर्थ देखिन सक्छन्, सिद्धिजाल सृजित हुन सक्छन्, लाभालाभ हुनसक्छन्।
साधकले सावधानी अपनाउनु पर्छ –
“नाना तीर्थानि दृश्यन्ते तथा मोक्षे तु सिद्धयः।
स्वयमेव प्रजायन्ते लाभालाभविवर्जिते।।
योगमार्गे तथैवेदं सिद्धिजालं प्रवर्त्तते।
सिद्धिभिर्लक्षयेत् सिद्धं जीवन्मुक्तं तथैव च।।”
वास्तवमा भन्ने हो भने अध्यात्मको यात्रा अत्यन्तै गहिरो छ। ईश्वर अगम्य छन्, अनन्त छन्। त्यसकारण ईश्वरप्राप्तिको यात्रा पनि अनन्त छ र रहस्यमय छ। तसर्थ साधकले कदापि सानासाना उपलब्धिमा अल्झिनु हुँदैन। पशुपति जानु छ भने बाटोमा जाँदा देखिने दृश्यमा अल्झिनु हुँदैन किनकि हाम्रो लक्ष्य त पशुपति हो। अध्यात्मको यात्रामा लाग्ने साधु, सन्त सानो विषयमा अल्झिनु हुँदैन। सुरापानलाई पूर्ण रूपमा छोड्नु पर्छ, नशालु पदार्थहरू त्याग्नुपर्छ। सांसारिक यात्रा होस् वा आध्यामिक यात्रा होस्। आजको समयलाई बुझेर जीवनमा पूर्ण रूपले सुरा, नसामुक्त जीवन जिउन सक्नुपर्छ नत्र हाम्रो जीवन व्यर्थ बन्नेछ।
साधु, सन्त, जोगीहरू जो समाजका मार्गदर्शक, प्रेरणा, अभिभावक हुन् तिनीहरू समेतले अध्यात्मको मूल मर्म नबुझी रस, रसायन, बुटी, तन्त्रमन्त्र आदिको पछि लाग्दा सिङ्गो समाज नै अलमलमा फसेको छ, अँध्यारोमा निसास्सिएको छ। तन्त्रमन्त्र आदिको आफ्नो विशिष्ट महिमा छ। यसको आफ्नै इतिहास छ, रहस्य छ, विधि छ, पद्धति छ, आचारसंहिता छ र अत्यन्तै गहन विज्ञान छ। तर यी सबै विषयलाई भुली जसले पायो उसले, जहाँ पायो त्यहाँ, जसरी पायो त्यसरी, यस्तो गुप्त विद्याको प्रयोग गरियो भने ऋद्धि मात्रै होइन सिद्धि पनि हराउँछ। हाम्रा ऋषि- महर्षिहरूले दिएको अत्यन्तै गुप्त ज्ञान र विज्ञान समग्र प्राणीको रक्षा र कल्याणका लागि हो तर आज क्षणिक लाभका लागि यसको दुरूपयोग हुन गयो। जसले गर्दा गहनतम तन्त्रमन्त्र विज्ञानप्रति समाजको अविश्वास बढ्यो। साथै समाजबाट अध्यात्मको प्रकाश कम हुँदै गयो।
सुरापान, नशालु पदार्थको सेवनले सामान्य मानिस पनि नाना थरी बोल्न थाल्छ। आफ्नो वरिपरिका व्यक्तिहरूप्रति गर्नुपर्ने कर्तव्य भुलाई अनेक भिन्न- भिन्न व्यवहार देखाउने गर्छ, त्यसैले सुरा र नसापान गर्नु हुँदैन। सुरा र नशामा भुल्ने मानिसले गर्नै नहुने कर्म गर्छ। त्यस्तो कर्म गरेर आजको समय नष्ट नगरौं। यो आजको समय अमूल्य छ। यसको भरपुर सदुपयोग गरौं, आफ्नो र विश्वकल्याणको लागि दिव्य कर्ममा यो समयलाई प्रयोग गरौँ। भोलि गर्छु भनेर टार्ने, अल्मलिने नगरौँ। एकै छिनमा के हुन्छ ? हामीलाई थाहा छैन। त्यसैले आजको समय हरेक पल सत्कर्ममा लगाउन निरन्तर प्रयास गरौं।
गुरु गोरखनाथ भन्नुहुन्छ- आजलाई बुझनु छ भने सुरापान, मद्यपान, धुम्रपान जस्ता नशालु पदार्थ प्रयोग गरेर गन्तव्यविहीन नबन। एउटा नसा गर्ने व्यक्तिले आफू र आफ्नो परिवारको पतन गर्छ। एउटा परिवारले समाज र समाजले राष्ट्रको पतन गराउँछ। नसामुक्त हुने र आजको समयको महत्त्व बुझन सक्ने हो भने एक व्यक्तिले आफू र परिवार अनि परिवारले समाज र समाजले राष्ट्र र राष्ट्रले विश्वलाई सुखमय बनाउन सक्छ। हामीले पतन हुने कर्ममा समय नष्ट नगरौं। हामी मानवले मानवका साथै सम्पूर्ण सृष्टिको रक्षाका लागि आज प्राप्त समयको भरपूर उपयोग गरौं।
अत्यन्तै उच्चतम अध्यात्म साधना गर्ने हाम्रो सनातन समाजमा मद्यपान आदिको प्रयोग बढ्दै जानु अत्यन्तै चिन्ता र आश्चर्यको विषय हो। सात्विकता, नैतिकता र आध्यामिकतालाई जीवनको परम पुरुषार्थ मान्ने नेपाली समाज सुरापान आदिमा फस्नु भनेको अत्यन्तै ठूलो विडम्बना हो। रातदिन शिव, बुद्ध, गोरखनाथ र सीताको पूजा हुने देशमा पनि घरैपिच्छे, पसलैपिच्छे नशालु पदार्थको बिक्रीवितरण हुनु अत्यन्तै लज्जाको विषय हो। एक मात्र हिन्दू राष्ट्र नेपाल दावी गर्ने देशमा पनि सुरापान आदि चाडपर्व, भोजभतेर, सभासमारोह आदिमा अनिवार्य जस्तै बन्नु अत्यन्तै पीडाको विषय हो। सुरापानले गर्दा न केवल समृद्धि गुम्छ अपितु शान्ति पनि गुम्छ। न केवल स्वास्थ्य गुम्छ अपितु जीवनको सौन्दर्य पनि गुम्छ। न केवल वर्तमान गुम्छ अपितु भविष्य पनि गुम्छ। सुरापानले शूरता नष्ट गर्छ र सुरमुनि तर्फको यात्रा पनि बन्द गर्छ।